दुई दिनमा कपिलवस्तुमा सर्पले टोकेर चार जनाको मृत्यु भएको छ।
मृत्यु हुने दुईजना एकै घरका दाजुभाइ हुन्।
सोमबार राति बुद्धभूमि नगरपालिका वडा नं. १ मा विषालु सर्पले टोक्दा एकै घरका दुई दाजुभाइ १२ वर्षीय दीपक भुसाल र ९ वर्षीय प्रदीप भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।
कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सोमबार राति घरमा सँगै सुतिरहेको बेला उनीहरूलाई सर्पले डसेको हो।
सँगै सुतिरहेका उनीहरू बिहान अचेत अवस्थामा भेटिएका थिए। बिहान उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा एक जनाको बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, मंगलबार बिहान बुद्धभूमि नगरपालिका १० की १६ वर्षीया ममता रैदास र महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि मृत्यु भएको हो।
रैदासलाई सोमबार बिहान सर्पले टोकेलगत्तै गोरूसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
यादवलाई भने सोमबार दिउँसो घर नजिकैको टौवाबाट पराल निकाल्ने क्रममा सर्पले टोकेको थियो। सर्पले टोकेलगत्तै उनलाई पनि गोरूसिङ्गे उपचार केन्द्रमा ल्याइएकोमा थप उपचारको लागि बुटवल ल्याउँदै गर्दा उनको पनि बाटोमै मृत्यु भएको हो।
वर्षा लागेसँगै तराईका जिल्लाहरूमा विषालु सर्पहरूको बिगबिगी बढ्न थालेको सर्पदंश उपचार केन्द्रले जनाएको छ। गर्मीयाममा जमिनमुनि तात्ने र वर्षायाममा जमिनमुनिका सर्पका बासस्थानमा पानी भरिएपछि सर्पहरू शितल र ओभानो स्थान खोज्दै जमिन माथि घर, गोठ, घाँस दाउरा राख्ने ओभानो स्थानहरूमा पुग्ने गर्छन्।