सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखा अधिकृत पोखरेललाई मंगलबार एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
उनले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचना अख्तियारले पाएको थियो।
उक्त सूचनाको आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले पोखरेललाई कार्यालयबाटै पक्राउ गरेको सहायक प्रवक्ता थपलियाले बताए।
अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।