दाङको तुलसीपुरमा महिलाको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका एक युवक पक्राउ परेका छन्।
सल्यानको कुमाख गाउँपालिका–३ रागेचौरकी ५१ वर्षीया निर्मला खत्रीको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका १८ वर्षीय नविन सुनार बिहीबार बेलुकी पक्राउ परेका छन्।
तिलहरी लुटेर युवक भाग्दै गरेको हल्ला भएपछि तुलसीपुर बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यसहित टोली गएर बेलुकी सुनारलाई नियन्त्रणमा लिएको हो।
खत्री तुलसीपुर बसपार्कस्थित छोरा बुहारीलाई भेट्न भनेर सल्यानबाट आएकी थिइन्।
उनका छोरा-बुहारीले तुलसीपुर बसपार्कमा नास्ता पसल संचालन गर्दै आएकी छन्।
बसपार्क झरेर छोरा-बुहारीले संचालन गरेको नास्ता पसल कहाँ छ भनेर खत्रीले सुनारलाई सोधेकी थिइन्।
तर सुनारले उक्त पसल देखाइदिने भन्दै तुलसीपुर बसपार्कको पुल नजिकै लगेर घाँटीमा रहेको तिलहरी लुटेर भागेको प्रहरीले बताए।
लुटेर भागेपछि खत्रीले गुहार मागेपछि प्रहरीले सुनारलाई पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी हिरासतमा राखेर घटनाबारे थप छानबिन हुने भएको छ।