रूकुम पश्चिमको आठविसकोट नगरपालिका-६ मा एक युवकको शव फेला परेको छ।
बिहीबार बिहान फेला परेको शव स्थानीय ४६ वर्षीय आसे बोहराको रहेको प्रहरीले जानकारी दिएको छ।
घर देखि झन्डै ६ सय मिटर जति टाढा झोडेनी भन्ने स्थानमा बोहराको शव फेला परेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले शव नजिकै एक थान भरूवा बन्दुक पनि फेला परेको बताए। बोहरा नौं दिनदेखि बेपत्ता थिए। शव सडेको अवस्थामा फेला परेको छ।
चोरी सिकार गर्न जाँदा बोहरालाई आफैंले भरूवा बन्दुक पड्काउँदा मृत्यु भएको हुनसक्ने आशंका प्रहरीको छ।
‘आफैंले बोकेको बन्दुक पड्केर मृत्यु भएको हो वा कसैले गोली हानी हत्या गरेको हो त्यो कुरा अनुसन्धान पछि मात्रै भन्न मिल्छ,’ उनले भने, ‘तर प्रारम्भिक अनुसन्धानबाट आफैंले बोकेको बन्दुक पड्किएर मृत्यु भएको हो कि भन्ने आशंका भइरहेको छ।’
बोहराको छातीमा गोली लागेको जस्तो खत देखिएको प्रहरीले बताएको छ।