बिहीबार राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम-काबेली सडकखण्ड अवरूद्ध बनेको छ। वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ।
खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए। शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।
‘ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ, सम्भवत आजै यातायात सञ्चालनमा आउन सक्छ’, उप्रेतीले भने।
सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।
अविरल वर्षापछि आएको बाढी-पहिरोका अरू ५ वटा राजमार्ग अवरूद्ध रहेका छन्। ४५ ठाउँमा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।
सडक विभागका अनुसार तमोर करीडोरअन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्न सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरूद्ध छ।
त्यस्तै पासाङ ल्हामु राजमार्ग पनि अवरूद्ध छ। बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी जोड्ने त्यस राजमार्ग नुवाकोटको निगालेमा अवरूद्ध रहेको विभागले अद्यावधिक गरेको सूचनामा उल्लेख छ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया-तुल्सिपुर–शितलपाटी-थारमारे-मुसीकोट जोड्ने सडक पनि अवरूद्ध रहेको छ।
उक्त सडक सल्लायनको जलेखर्कमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
डुम्रे-बेशीसहर–चामे जोड्ने सडक लम्जुङको खरखरेमा अवरूद्ध रहेको छ।
भालुवाङ-लिवाङ रोल्पा-माडीचौर–दारबोट पुग्ने सडक पनि प्युठानको जन्तिभीरमा अवरूद्ध रहेको छ।
कोशी राजमार्गअन्तर्गतको रानी–विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट–तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा एकतर्फी रहेको छ।
तानसेन-रिडी-कोरला सडक नौनीबगर, गुइथे आदि स्थानमा एकतर्फी रहेको विभागले जानकारी दिएको छ।