नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जनतामा लोकप्रिय भएको बताएका छन्।
पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै वर्तमान सरकार उनले इतिहासकै लोकप्रिय सरकार भएको दाबी गरेका हुन्।
सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो।
‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ। सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ’, पुनले भने, ‘इतिहासमा पहिलोपटक सरकार पपुलर (लोकप्रिय) भएको छ।’
पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा भएको बताएका छन्।
पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उनले सोही क्षमताका कारण प्रतिनिधिसभामा तेस्रो शक्ति भएर पनि आफ्ना अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए।
प्रचण्ड माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता भएको दाबी उनको थियो।
‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेस्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं’, पुनले भने, ‘राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो। कांग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ।’
गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो।
‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ। तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन्।’
पुनले आफ्नो अध्यक्ष नेतृत्वको वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए। ठूला भ्रष्टाचार र बेथितिहरूमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ थियो।
पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरूसँग चिढिएको बताए।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको उनले बताए।
तर, तत्काल सत्तारूढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको उनले बताए।
‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको र कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो’, पुनले भने।
सरकारले गरेको राम्रा कामबारे जनतामा सम्प्रेषण गर्ने उद्देश्यले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले तीन महिने अभियानको कार्यक्रम पारित गरेको बताए। पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशका एकएक वडामा आफैं गएर संगठन निर्माण गर्छु भन्नुले पार्टीमा नयाँ रक्तसञ्चार पैदा भएको उल्लेख गरे।
उनले आफ्ना अध्यक्ष प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिंड्न सक्ने कौशलता रहेकै कारण गत निर्वाचनमा पार्टी ३३ सितसहित तेस्रो शक्तिमा खुम्चिए पनि मुलुकको नेतृत्व गर्ने मौका आएको बताए।
सरकारका कांग्रेस सहितका दलसँगको सहकार्यमा रहेको भए पनि राष्ट्रिय मुद्दाहरूमा प्रमुख प्रतिपक्षी सहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरू रहेको उल्लेख गरे। संसदका विषयगत समितिहरूमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानकै लागि प्रतिपक्षी एमालेलाई तीन समितिको सभापति दिने सहमति भएको उनको भनाइ थियो।