ललितपुरमा समानान्तर पार्किङ लागु गरिएको छ।
शनिबार ललितपुर महानगरपालिकाको जावलाखेल खरिबोटबाट भनिमण्डलसम्मको सडकमा समानान्तर पार्किङ लागु गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।
सीधा पार्किङ गर्दा सवारी जाम र दुर्घटना बढेको भन्दै महानगरले यो क्षेत्रमा समानान्तर पार्किङको व्यवस्था गरेको उनले बताए।
यसरी पार्किङ गर्दा ठाउँ पनि थोरै ओगट्ने भएकाले लागु गरिएको उनको भनाइ छ।
हाललाई खरिबोट-भनिमण्डलमा मात्रै गरिए पनि अन्य ठाउँमा पनि यस्तै लागु गर्ने तयारी रहेको हाछेथुले बताए।
‘अहिलेलाई हामीले यही सकडमा मात्रै लागु गरेका छौं। अन्य चार लेनका सडकहरूमा लागु गर्ने तयारी छ,’ उनले भने, ‘जहाँजहाँ समस्या आउँछ त्यहाँत्यहाँ हामी यो लागु गर्छौं।’
पार्किङ नै हटाउँदा पनि व्यवसायीहरूलाई असर गर्ने भएकाले पनि सडक छेउमा पार्किङ गर्न दिने व्यवस्था गरेको उनले बताए। यसरी पार्किङ गर्न दिएमा व्यवसाय पनि प्रवर्द्धन हुने हाछेथुले बताए।
‘ललितपुरमा पार्किङको समस्या छ। सबै ठाउँमा व्यावसायिक भवनहरूले पार्किङ राखेको पनि हुँदैन। राखेकै भए पनि त्यहाँ आउने सेवाग्राहीका सवारी साधन सबै अट्दैनन्। त्यसैले पनि यसरी राख्न खोजेका हौं,’ उनले भने।
