नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरूजु फर्छ्यौट हुन बाँकी रहेको देखिएको छ।
कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम सुरू गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरूजु फर्छ्यौट हुन बाँकी रहेको बताए।
आइतबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरूजु फर्छ्यौट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको बताए।
महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरूजु देखाएको उल्लेख गर्दै उनले त्यो वर्षौंदेखिको भएको बताए।
काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरूजुको अवस्था भयावह बन्दै गएको उल्लेख गरे।
‘जिम्मेवारहरूले आफ्नो जिम्मेवारी पूरा नगरेका कारण देशको अवस्था भयावह छ। देशको बजेट १५/१६ खर्ब हुन्छ। नौ खर्ब त बेरूजु नै छ,’ उनले भने।
कार्यवाहक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको पनि बताए।
देशभरका कार्यालयहरूको अडिट गर्न करिब ४ सय जति मात्रै जनशक्ति रहेकाले आफूहरूले रिस्क बेसिस अडिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। न्युज एजेन्सी नेपाल