प्रहरीले झन्डै ६ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। पोखराबाट पक्राउ परेका तीन जना पुरूषहरूबाट प्रहरीले पोखराबाट ५ किलो ७ सय ग्राम अफिम बरामद गरेको छ।
कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेहरूमा पूर्वी रूकुम पुथाउत्तरगंगा गाउँपालिका– २ का ४१ वर्षीय दिपेश पुन, सोही गाउँपालिका वडा नम्बर– १ का ४० वर्षीय विराज पुन र बागलुको निसीखोला गाउँपालिका– ५ का तेजेन्द्रबहादुर पुन छन्।
लागुऔषध यिनयन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार राती १० बजे पोखरा–२५ हेमजाबाट उनीहरूलाई पक्राउ गरेको हो।
सडकमा बेच्न हिँडिरहेको अवस्थामा दिपेश पुनलाई अफिमसहित र खरिद बिक्रीमा संलग्न भएको भन्दै तेजेन्द्र र विराजलाई पक्राउ गरिएको डिएसपी विकले जानकारी दिए।
अफिमसहित उनीहरूसँग भएको तीन वटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई लागुऔषध कसुरमा मुद्दा अनुसन्धान गर्न अदालतले २० दिन म्याद अनुमति दिएको डिएसपी विकले बताए।