नुवाकोट ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै ठाउँमै मृत भेटिएकी छन्।
पाँचथर घर भएकी ४६ वर्षीया मनकुमारी सारू मगर मृत फेला परेकी हुन्।
उनी श्रीमान सन्तोष राईसँग ककनीमा निर्माणाधीन कोल्डस्टार भवन निर्माणको काम गर्न आएकी थिइन्। आइतबार साँझ खाना खाएर सँगै सुतेकी थिइन्।
राति दुई बजे श्रीमान बिउँझेर बोलाउँदा नबोलेपछि मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।
'शरीरमा कुनै चोटपटक देखिएको छैन। पोस्टर्मटमको लागि टिचिङ अस्पताल काठमाडौं पठाएका छौं,' एसपी पण्डितले भने।
उनीहरू निर्माणाधीन भवनमा नै बस्ने गरेको पाइएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पण्डितले जानकारी दिए।