राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आर्थिक खर्च पारदर्शी भए/नभएको विषयमा छानविन गर्न समिति गठन भएको छ।
गत साउन तेस्रो साता अध्यक्ष छत्रबहादुर प्रधानले उपाध्यक्ष शारदा चन्दको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्। समितिको सदस्यमा बासुदेव शर्मा पण्डित र प्रकाशकुमार श्रेष्ठ छन्।
यसअघि अध्यक्ष प्रधानमाथि सदस्यहरूले आर्थिक विषयमा प्रश्न उठाएका थिए। आफूमाथि प्रश्न उठेपछि अध्यक्ष प्रधानले आफैले समिति गठन गरेका हुन्।
समितिलाई सुर्खेतमा सम्पन्न नवौं अधिवेशन, केन्द्रीय स्तरको छलफल तथा सुझाव संकलन कार्यक्रम, सातै प्रदेशमा सम्पन्न बृद्धावस्था व्यवस्थापनको लागि स्याहारकर्ता तालिम, दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस लगायतका विभिन्न कार्यक्रम सम्पन्न गर्दा महासंघबाट भएको आर्थिक खर्चको पारदर्शी हिसाब किताब भए नभएको यथार्थ विवरण मूल्यांकन गरी ५ दिनभित्र प्रतिवेदन तयार गर्न भनिएको थियो।
समितिले प्रतिवेदन तयार गरेको र आगामी बोर्ड बैठकमा पेश गर्ने बताइएको छ।
