बागमती प्रदेश सरकारले श्रम तथा रोजगार नीति जारी गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले नीति तर्जुमा गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराएको हो।
प्रतिस्पर्धी जनशक्ति विकास तथा उत्पादनमूलक क्रियाकलापका लागि अनुकूल वातावरणको सिर्जना गर्न नयाँ नीति अघि सारिएको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए।
‘सबैलाई गुणस्तरीय रोजगारी एवम् स्वरोजगारीका अवसर प्राप्त हुने लक्ष्य लिइएको छ भने लक्ष्य प्राप्तीको लागी पाँचवटा उद्देश्य एवं २५ वटा रणनीतिहरू निर्धारण गरेका छौं,’ उनले जानकारी दिए।
काम गर्न सक्ने उमेर समूहका व्यक्तिलाई लक्षित गरी रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय स्रोत साधन र परम्परागत प्रविधिलाई स्तरोन्नति गरी उत्पादकत्वमा वृद्धि गर्न नीति ल्याउनुपरेको उनले बताए।
अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिकीकरण गर्ने, रोजगार तथा स्वरोजगारमूलक उद्यम तथा पेसा व्यवसायको प्रवर्द्धन गर्ने र रोजगारीमूलक कार्यक्रमहरू पूर्वाधार निर्माणका परियोजनासँग आबद्ध गर्ने जस्ता रणनीति लिएको नीतिमा उल्लेख छ।
त्यस्तै, दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादन गर्न श्रम बजारको आवश्यकता बमोजिमको दक्षतायुक्त जनशक्ति उत्पादन गर्ने, प्राविधिक जनशक्तिको विकास गर्ने, तालिम प्रदायक संस्थाहरूको स्थापना र सुदृढीकरण गर्ने, व्यावसायिक तालिम तथा सीप विकास सम्बन्धी कार्यक्रम सञ्चालनमा दोहोरोपन हटाउने जस्ता रणनीति अख्तियार गरिने पनि नीतिले लक्ष्य राखेको छ।
नयाँ नीतिबाट श्रम सूचना प्रणालीको सुदृढीकरण हुने, तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताको विस्तार हुने, स्वदेशी श्रम, पुँजीको परिचालनबाट बाध्यात्मक वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको न्यूनीकरण हुने अपेक्षा राखिएको लम्सालले बताए।
यसका अतिरिक्त अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू औपचारिक क्षेत्रमा रूपान्तरण भएको हुने र श्रमिकको अधिकारको रक्षा तथा श्रम प्रशासनको सुदृढीकरण भएको हुने अपेक्षा राखेको पनि उनले बताए।