पूर्व–पश्चिम राजमार्गस्थित चितवनको टिकौली जंगलमा सातवटा सवारी साधनलाई ठक्कर दिने बसका चालकले लागुपदार्थ (गाँजा) सेवन गरेको पुष्टि भएको छ।
गत साउन ३१ गते भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसले विपरीत दिशातर्फ आउँदै गरेको शव बोकेको जिप, चारवटा मोटरसाइकल र दुइटा स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा २० जना घाइते भएका थिए। घाइते केहीको अहिले पनि उपचार भइरहेको छ।
ठक्कर दिने बसका चालक गैंडाकोट–९ बस्ने २६ वर्षीय आशिष परियारको 'टिएचसी' परीक्षणमा गाँजा सेवन गरेको देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए। टिएचसी परीक्षणमा केही दिनअघि गाँजा सेवन गरेको भए पनि रिपोर्ट 'पोजेटिभ' देखिने भएकाले चालकले दुर्घटना भएकै दिन गाँजा सेवन गरेका थिए कि अगाडिको देखिएको हो भन्ने यकिन भने नभएको उनले बताए।
प्रहरीले परियारलाई सवारी अंगभंगको मुद्दा चलाएको छ।
यसैबीच चालकले गाँजा सेवन गरेका कारण दुर्घटना भएको सम्बन्धमा समाचार प्रकाशन गरेपछि केही व्यक्तिले चितवनका दुई सञ्चार संस्थामा पुगेर पत्रकारलाई दुर्व्यवहार गरेका छन्।
अक्सफोर्ड कलेजसँग सम्बन्धित व्यक्तिसहितको समूहले 'चितवन पोष्ट दैनिक' र 'नारायणी अनलाइन' को कार्यालयमा पुगेर सञ्चारकर्मीलाई धम्काएको ती सञ्चार संस्थाका सञ्चालकहरूले बताएका छन्।
नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा पत्रकारहरूमाथि गरिएको दुर्व्यवहार एवं धम्कीको निन्दा गरेको छ।
महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले जारी गरेको विज्ञप्तिमा पत्रकारको सुरक्षाको प्रबन्ध गर्न र दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरिएको छ।