सोमबार हिन्दु धर्मावलम्बीका घरघरमा नागको फोटो टासिँदै थियो। चितवन र नवलपुरका विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरू भने एक ठाउँमा भेला भएर सर्पको चित्र बनाउँदै थिए।
नाग पञ्चमीको अवसरमा घरको दैलोमा नागको फोटो टाँस्ने चलन छ। हिन्दु धर्मावलम्बीले नाग भनेर पुज्ने सर्पको महत्त्व धार्मिक रूपमा मात्रै नभएर जैविक, चिकित्सकीय रूपमा पनि छ भन्ने जानकारी दिन बालबालिकालाई एक ठाउँमा भेला गरिएको थियो।
सर्पदंश तथा सर्प उद्धारको क्षेत्रमा काम गर्दै आएको राइज ह्यान्ड्स नेपाल नामको संस्थाले सर्पको महत्त्व विषालु सर्पको पहिचान गर्ने, सर्पका बारेमा भएका भ्रमहरूका बारेमा विद्यालय तहबाटै चेतना जागृत गराउने उद्देश्यले भरतपुर–६ स्थित लेक ट्वान्टि थाउजेन्ड फार्म एन्ड रिट्रिटमा चित्रकला प्रतियोगिता गरेको थियो।
सर्प र पर्यावरण विषयक विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ४३ विद्यालयका ६१ जना बालबालिका सहभागी भएको राइज ह्यान्ड्सका अध्यक्ष यमलाल भण्डारीले जानकारी दिए।
प्रतियोगितामा कक्षा ४ देखि १२ सम्म पढ्ने विद्यार्थी सहभागी थिए।
प्रतियोगितामा एपेक्स एकेडेमी क्षेत्रपुरका सुशील थापा प्रथम, मुकुन्दसेन इङ्लिस बोर्डिङ स्कुल, हर्कपुरका सोनिस महतो द्वितीय र सरस्वती निकेतन कलेज, गैंडाकोटका पृतम आले मगर तृतीय भए।
अन्नपूर्ण शिशु निकेतन रत्ननगरका किरण परियारले सान्तवना पुरस्कार प्राप्त गरे।
लामो समयदेखि सर्प उद्धारमा सक्रिय रहेका भण्डारीले विद्यार्थीमार्फत सर्पको विषयमा चेतना जगाउन सके समुदायलाई बुझाउन सहज हुने बताए।
'सर्पले टोकेपछि अस्पताल जानुपर्नेमा झारफुक गर्ने, गोबर दलेर बस्ने चलन अझै पनि छ। सर्प सबै विषालु हुँदैनन् तर टोकेपछि अस्पताल पुगिहाल्नुपर्छ भन्ने विषयमा समाजलाई राम्ररी बुझाउनुपर्नेछ,' भण्डारीले भने, 'बालबालिकालाई सर्प सम्बन्धी ज्ञान दिँदै संरक्षणमा जागरूक बनाउन हामी अभियान चलाइरहेका छौं।'
सो अवसरमा सर्प विज्ञ डा. देवप्रसाद पाण्डे, सुनील सापकोटाले नेपालमा पाइने सर्प र तिनका विशेषताका विषयमा जानकारी गराएका थिए।
सापकोटाका अनुसार सन् २०१८ मा सार्वजनिक भएको एक सर्वेक्षणमा नेपालमा ३२ प्रजातिका सर्प रहेको पाइएको थियो। करिब दस वर्ष लगाएर गरिएको सर्वेक्षणमा ४४८ वटा सर्पहरूको अध्ययन गरिएको उनले बताए। विश्वमा ४ हजार बढी प्रजातिका सर्प पाइने तथ्यांक रहेको सापकोटा बताउँछन्।



