भक्तपुरको बाल सुधार गृह तोडफोड गरी भागेका मध्ये ७ जना अझै फरार छन्।
सोमबार अपराह्न सुधार गृह तोडफोड गरेर भागेका २ सय ५५ जनामध्ये २४८ जना पक्राउ परिसकेका छन्।
मंगलबार दिनभरमा उपत्यकाका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन्।
फरारमध्ये १ जनालाई प्रहरीले दोलखाबाट पक्राउ गरेको थियो। बाँकीको खोजी तीव्र पारिएको डिएसपी पाठकले जानकारी दिए।
पक्राउ परेकाहरूलाई भक्तपुरका विभिन्न प्रहरी कार्यालयमा राखिएको उनले बताए। केहीलाई भने सोही सुधार गृहमा राखिएको छ।
तोडफोड भएको बनाइएसकेर उनीहरूलाई पुनः सोही सुधार गृहमा लगिने डिएसपी पाठकले बताए। त्यतिन्जेलका लागि विभिन्न प्रहरी कार्यालयमा छुट्टै कोठा बनाएर उनीहरूलाई राखिएको छ।
पढ्नुस्ः सुधार गृहमा कमलको हत्या भएको परिवारको दाबी, प्रहरी भन्छ- प्रारम्भिक अनुसन्धानमा त्यस्तो देखिँदैन
सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो।
बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए।
शनिबार राति बेहोस भएका बस्नेतको आइतबार बिहान भक्तपुरस्थित नागरिक अस्पतालमा मृत्यु भएपछि तनाव सुरू भएको थियो।
कमलको हत्या भएको भन्दै उनका परिवारले शव बुझ्न मानेका छैनन्।
बाल सुधार गृहमा २५५ बालक र ४३ बालिका गरी २९८ जना छन्।