काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेकाले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा भइरहेको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश स्थानहरूमा आज बिहानदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पानी पर्ने क्रम आज दिनभरजसो रहने उनले बताए।
‘पानी रहिहाल्ने अवस्था देखिँदैन, एकछिन रोकिने र फेरि पर्ने क्रम दिनभर रहिरहन्छ,’ उनले भने।
उपत्यकामा राति पनि वर्षाको सम्भावना छ।
काठमाडौं उपत्यकामा मात्र होइन देशभका धेरै स्थानहरूमा आज दिउँसो हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान् छ।
दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति तुलनात्मक रूपमा बढी पानी पर्ने मौसम पूर्वानुमान् महाशाखाको प्रक्षेपण छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
मौसमविद् अधिकारीका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा रहेकाले आगामी तीन दिन देशभर पानी पर्ने क्रममा वृद्धि हुने पूर्वानुमान् छ।