भक्तपुर हस्पिटलमा नयाँ प्रविधि 'फ्रोजन सेक्सन' ल्याएका छौं।
यो मेसिनबाट क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउँछौं। यो शल्यक्रिया गर्दागर्दै गरिने परीक्षण हो। बिरामी अपरेसन बेडमा भएकै बेलामा शंकास्पद ठाउँबाट एउटा बायस्पी निकालेर पठाइन्छ। त्यसरी पठाइएको मासुलाई एउटा विशेष तरिकाको जेल लगाएर त्यसलाई फ्रोजन सेक्सन भन्ने मेसिनमा राखिन्छ। त्यसमा विशेष प्रकारको रंग लगाएर माइक्रोस्कोपबाट हेरिन्छ।
यो अवधि १५ मिनेटको हुन्छ।
फ्रोजन सेक्सनबाट क्यान्सर भए/नभएको मात्र नभई क्यान्सर फैलिएको पनि थाहा हुन्छ। भक्तपुर अस्पतालमा दुई महिनादेखि यसको प्रयोग गरिँदै आएको छ।
यसको अत्यन्त जरूरी उपयोग साथै स्तन क्यान्सर भएका बिरामीको काखीको ग्रन्थीमा फैलिएको छ कि छैन भनेर थाहा पाउने हो। त्यसको लागि सर्जनहरूले अपरेसन गर्दागर्दै विशेष प्रकारको रंग इन्जेक्ट गर्छन् र काखीको जुन ग्रन्थीहरूमा रंग देखिन्छ त्यसको बायस्पी गरेर फ्रोजन सेक्सनलाई पठाइन्छ। बिरामीको क्यान्सर ग्रन्थीहरूमा फैलिएको छ कि छैन भनेर जाँच गरिन्छ। यस्तो परीक्षण अरू क्यान्सरमा समेत गर्न मिल्छ।
यो सेवा सुरू भएपछि बिरामीलाई धेरै सहज भएको छ। फ्रोजन सेक्सन सेवाका लागि अब अन्यत्र जान परेन। यो परीक्षणका लागि सर्जन र प्याथोलोजिष्टबीच सहकार्य हुन जरूरी छ।
यसले गर्दा क्यान्सर दोहोरिने सम्भावना पनि कम हुन्छ। यसअघि क्यान्सरको फैलावट पत्ता लगाउन समय लाग्थ्यो। यो सेवा सुरू भएसँगै अपरेसन गर्दागर्दै कहाँसम्म उपचार गर्ने भनेर त्यहीबेला थाहा हुने भएको छ।
(अंकोप्याथोलोजिष्ट डा.दिक्षा कार्की भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन्।)