आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँबाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको उद्घाटन गरिएको छ।
सेन्टरको उद्घाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा रीता गुरूङले संयुक्त रूपमा गरेका हुन्।
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञतासहित यो सेन्टर सञ्चालनमा आएको हो।
उक्त सेन्टरले आँखासम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्ने बताइएको छ। आँखासम्बन्धी उन्नत निदान उपकरणहरूका साथै दक्ष कर्मचारीहरूद्वारा आँखाको जाँच गरिन्छ। नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू सेन्टरले प्रदान गर्ने बताइएको छ।
मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरूको उपचार, आँखाको सौन्दर्यसम्बन्धी र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरू पनि यो संस्थाले प्रदान गर्ने जनाएको छ।