भक्तपुर बाल सुधार गृह तोडफोड गरेर भागेकामध्ये ५ जना अझै फर्किएका छैनन्।
सुधार गृह तोडफोड गरी भागेका २५५ जनामध्ये प्रहरीले अहिलेसम्म २५० जनालाई फिर्ता ल्याइसकेको छ।
भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार नफर्किएका ५ जनामध्ये केही सम्पर्कमै छन् भने केहीसँग सम्पर्कको प्रयास भइरहेको छ।
पाँचै जना भागेर काठमाडौं बाहिर छन्। उनीहरूलाई पुनः काठमाडौं ल्याउने प्रयास भइरहेको एसपी केसीले जानकारी दिए।
‘उनीहरूलाई पक्राउको शैलीमा नल्याउँ भन्ने हो। सम्पर्क भएकाहरूलाई आफैं आउन भनिएको छ। नरहेकाहरूसँग सम्पर्कको प्रयास भइरहेको छ,’ एसपी केसीले भने।
भदौ ३ गते आइतबार रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि भक्तपुर बाल सुधार गृह तनावग्रस्त भएको मौका छोपेर २५५ जना बालकैदी भागेका थिए।
उनीहरूमध्ये अधिकांशलाई चौबिस घन्टाभित्रै पुनः पक्राउ गरेको थियो। सानोठिमीको सुधार गृहमा रहेकामध्ये एक सय ५४ जना जबर्जस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा दोषी ठहर भएका थिए।
पुनः पक्राउ गरी ल्याइएकामध्ये ५७ जनालाई काठमाडौं बाहिर पठाइएको एसपी केसीले जानकारी दिए।
बाहिरी जिल्ला पठाइएका सबै १८ वर्षभन्दा माथि छन्। १८ वर्षभन्दा माथिका भएपनि उनीहरूलाई सुधार गृहमै राखिने एसपी केसीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्सा, १८ जनालाई मकवानपुर, सात जनालाई डोटी र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरिएको एसपी केसीले बताए।
सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थानान्तरण गरेको बताइएको छ।
फरार रहेकाहरूलाई पनि चाँडै ल्याइने एसपी केसीले बताए।