झापा प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल, झापाको गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बू र मोरङको उर्लाबारी नगरपालिका-७ का २७ वर्षीय बिनोद लिम्बु छन्।
उनीहरूलाई आइतबार बेलुका सवा ९ बजे झापा गाउँपालिका-१ बेलायतीबारीबाट इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
झापाका प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा एअर फिल्टर भित्र लुकाएर ४४ ग्राम २८० मिलिग्राम ब्राउन सुगर भेटिएपछि चालक धिमाललाई पक्राउ गरेको थियो।
संगै आएको २१ प १०४० नम्बरको अर्को मोटरसाइकलमा आएका सन्देश र विनोद लिम्बूको साथबाट ५० हजार रूपैयाँ बरामद गरेको प्रवक्ता रिजालले जानकारी दिए।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अगाडि बढाइएको उनले बताए।