रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुखले उपमेयर विमलकुमार पुनविरूद्ध दिएको उजुरी फिर्ता लिएका छन्।
शिक्षा शाखा प्रमुख नरेन्द्र वली स्वयं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूहरूका बीचमा कुरा मिलेको र सहमति भएको भन्दै उजुरी फिर्ता लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले सेतोपाटीलाई बताए।
गत शनिबार बिहान ११ बजेतिर उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख वलीलाई परीक्षाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेको कुरा सार्वजनिक भएको थियो।
शिक्षा शाखा प्रमुख वलीले उपमेयर पुनविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुगेर उजुरीसमेत दिएका थिए।
वलीमाथि भएको कुटपिटको विषयमा कर्मचारी आन्दोलनमा उत्रिएका थिए।
उनीहरूले नगरपालिका प्रवेश गर्ने प्रमुख गेटमा तालाबन्दी गर्नुका साथै आइतबार दिनभरजसो धर्ना दिएको हुँदा सेवा प्रभावित बनेको थियो।