दाङको घोराही उपमहानगरपालिका सामाजिक महाशाखाले विद्यालयबाटै विद्यार्थी पोशाक बिक्री गर्न नपाइने नीति जारी गरेको छ।
महाशाखा प्रमुख विनोद गौतमले दस दिन पहिले जारी गरेको सार्वजनिक विज्ञप्तिमा नगरभित्रका निजी र सामुदायिक विद्यालयलाई त्यस्तो आग्रह गरेका हुन्।
गौतमले विद्यार्थीका पोशाक, टाइ, बेल्ट र जुत्तालगायत सामग्री खरिद एवं सिलाइ गरी बिक्री नगर्न भनेका छन्।
केही समय अगाडि नेपाल कपडा तथा सिलाइ व्यवसायी संघले घोराहीका मेयर नरुलाल चौधरीलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएका थिए। विद्यालयले होलसेलमा त्यस्ता सामग्री तयार पार्न लगाई विद्यार्थीबाट गलत तरिकाले मुनाफा लिने गरेको भन्दै त्यो कार्य रोकिनु पर्ने सिलाइ व्यवसायीहरूले माग गरेका थिए।
अब विद्यार्थीले विद्यालय पोशाक आफूले रोजेको ठाउँबाट आफैं किन्न तथा सिलाइ गर्न पाउने आशा गरिएको छ।