६० किलो सुन प्रकरणमा थप एक व्यक्ति पक्राउ परेका छन्।
आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोकका किशोर बस्नेतलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
सुन प्रकरणमा भारतमा पनि प्रहरीले अपरेसन चलाएपछि उनी नेपाल आएका थिए।
'नेपाल आएको सूचना पाएपछि हामीले उनलाई एयरपोर्टबाटै पक्राउ गरेका हौं,' उनले भने, 'विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा कनेक्सन देखिएकाले उनलाई नियन्त्रणमा लिएका हौं। अहिले उनको भूमिका खुलिसकेको छैन।'
यसबारेमा अनुसन्धान भइरहेको डिआइजी कडायतले जानकारी दिए।
योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। आज दिउँसो मात्रै प्रहरीले काठमाडौंबाट पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको थियो।
गत साउन २ गते हङकङबाट ल्याइएको ब्रेक शुमा लुकाएर ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।