कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले साइबर ब्युरो भवन बनाइदिने भएको छ।
बुधबार सामाखुसीमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क तेई यङ र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोरियाली सरकारको सहयोगमा नेपाललाई बनाइदिन लागेको साइबर ब्युरो भवनको शिलान्यास गरेका हुन्।
कोइकाले अत्याधुनिक भवन निर्माण गर्नका साथै साइबर अपराध अनुसन्धान र डिजिटल फोरेन्सिक प्रयोगशाला सम्बन्धित उपकरण र नेपाल प्रहरीका सम्बन्धित मानव स्रोतको क्षमता निर्माणका लागि समेत सहयोग गर्ने जनाएको छ।
यसले नेपाल प्रहरीको साइबर अपराधको क्षमतालाई वृद्धि गर्ने विश्वास गरिएको छ। यस परियोजनाका लागि ८० लाख डलर (एक अर्ब ५ करोड ९३ लाख ६० हजार रुपैयाँ) मा बजेट विनियोजन गरिएको छ भने साइबर ब्युरोको भवन फेब्रुअरी २०२५ सम्पन्न हुने बताइएको छ।
यस्तै, कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ परियोजनाबाट हरित रोजगारी सिर्जना' परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
परियोजनाले पोखरा सहरको बीचमा हरित भेञ्चर जोन स्थापना गर्नेछ।