डेढ वर्ष नपुग्दै सप्तरीका चार जना पालिका प्रमुख भ्रष्टाचार अभियोगमा निलम्बनमा परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसमबन्धी मुद्दा दायर गरेपछि बोदे बरसाइन नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र विष्णुपुर गाउँपालिका प्रमुख निलिम्बित भएका हुन्।
बुधबार मात्रै अख्तियारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बोदेबर्साइन नगरपालिका—६ स्थित फुलकाहीमा संचालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रममा १४ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर भएसँगै नगर प्रमुख सिंहसहित आठै जनाको पद निलम्बनमा परेको छ।
बाख्रा व्यवसायी पकेट कार्यक्रमा कामै नगरी गलत बिल भरपाई बनाएर स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी झुटो प्रतिवेदन पेश गरी १४ लाख ७१ हजार ९२१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिइएको विशेष अदालतमा दायर गरिएको आरोप पत्रमा उल्लेख छ।
कामै नगरी भुक्तानी दाबी भएकोमा मेयर सिंह, वडा नं ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको पाइएको अख्तियारको दाबी छ।
त्यसअघि गत भदौ ११ गते विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव पदबाट निलम्बित भएका थिए। घुससम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ अख्तियारले नियन्त्रणमा लिएको थियो। अध्यक्ष यादवमाथि विशेष अदालतबाट म्याद थप गराई थुनामा राखेको छ।
आयोगले गाउँपालिका कार्यालयमा पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको छ।
गत साउन ३१ गते सोलारसम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्रकुमार यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो।
सो प्रकरणमा अध्यक्ष यादवको समेत संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ।
यसअघि शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरूद्ध अख्तियारले घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि फागुन १७ गतेदेखि निलम्बित भएका थिए।
नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा दुवै जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो।
अख्तियार टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो। प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर भएको हो।
त्यसअघि राजविराज नगरपालिकाका मेयर भीमराज यादव निलम्बनमा परेका थिए।
अख्तियारले ०७९ असार २९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। राजविराजस्थित राज रंगशाला स्तरोन्नतिमा भ्रष्टाचार गरेको ६ वर्ष पुरानो मुद्दामा उनी मुछिएका हुन्।
गहिल कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका भीमराज यादवले निर्माण सेवाले आर्थिक वर्ष ०७४–०७५ मा राजरंगशाला स्तरोन्नति कार्यको लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र सो कन्स्ट्रक्सनबीच सम्झौता भए पनि यादवले मापदण्डविपरीत काम गरेको आरोप छ।
यादवले मापदण्डविपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा काम गरेकोभन्दा बढी भुक्तानी लिएको भन्दै अख्तियारले मुद्दा दायर गरी कैद र जरिवाना माग गरेको छ।