सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सक प्रज्ज्वल कोइरालाको शव फेला परेको छ।
झापा, दमक–१ का बासिन्दा उनी मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए।
३२ वर्षीय सर्जन कोइरालाको शव मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ।
उनको शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए।
‘शव सडेगलेको अवस्थामा फेला परेको छ, आफन्तले शव पहिचान गर्नुभएको छ,’ फुयाँलले भने।
कोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनी भदौ १० गते राति सप्तकोशी नदीको छेउमा कार छोडेर डाक्टर बेपत्ता भएका थिए। बेलका नगरपालिका–८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए।
सप्तकोशी नदीको पुलको बीच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो। कोइराला ट्रमा सेन्टरमा सेवा गर्नुअघि उर्लाबारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गर्थे। उनले आत्महत्याको बाटो रोज्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।