चितवुको आक्रमणबाट बैतडीको पञ्चेश्वर गाउँपालिका-३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहार गम्भीर घाइते भएकी छन्।
बिहीबार मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल बनमा घाँस काट्दै गर्दा उनलाई चितुवाले आक्रमण गरेको थियो।
गम्भीर घाइते भएकी उनलाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। मेलौलीमा उपचार हुन नसक्दा अपराह्न थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ। सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा. सञ्जीन केसीले बताए। घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ।
उनले भने, ‘बेहोसमा रहेकी पूजा होसमा आएकी छन् तर सिटिस्क्यान गर्नुपर्ने देखियो। हामीकहाँ सुविधा नभएकाले डडेल्धुरा रेफर गरेका छौँ।’
गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पूजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर–३ का वडाध्यक्ष मीनबहादुर चन्दले बताए।
आक्रमणपछि चितुवाले पुजालाई तीन सय मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयवासीले होहल्ला गरेपछि छाडेको थियो। चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन्।
तल्लोस्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ।