वीरगंज महानगरपालिकाले अनुमतिबिना सञ्चालन भइरहेको ९ वटा शैक्षिक संस्थालाई जरिवाना गर्ने निर्णय गरेको छ।
शिक्षा समितिको सोमबार बसेको बैठकले ती संस्थालाई १/ १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
संस्थागत विद्यालय नियमन समितिले अनुगमनका क्रममा शिलबन्दी गरेका शैक्षिक संस्थालाई जरिवाना गर्नुका साथै ती संस्थालाई कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न रोक लगाउने र उनीहरूले व्यवसाय दर्ता गरेको भए त्यो समेत खारेज गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए।
उनका अनुसार शिक्षा समितिले गठन गरेको संस्थागत विद्यालय नियमन समितिले गएको भदौ १३ गतेदेखि गरेको अनुगमनका क्रममा कुनै पनि अनुमति नलिई ती शैक्षिक संस्था अवैध रूपमा सञ्चालनमा रहेको भेटेपछि शिलबन्दी गरेको थियो।
वीरगञ्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज र नेशनल कलेजलाई जरिवाना गरिएको हो।
त्यसैगरी बिजी बिज किड्स प्रि स्कुल पनि ५० हजार रुपैयाँ जरिवानामा परेको छ। आफूले लिएको अनुमति पत्र दोस्रो पक्षलाई दिएर दुरूपयोग गर्ने ९ वटा विद्यालयलाई समेत दण्ड जरिवाना गरी नसिहत दिइएको छ।
पिस जोन एकेडेमी, ओसिस मा.वि., ग्रिनल्याण्ड मा.वि., गोल्डेन वाटिका स्कुल, ज्ञान निकेतन मा.वि., न्यू वेभ एकेडेमी, एन्जल इन्टरनेसनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगंज सेन्ट्रल स्कुलले आफूले लिएको अनुमति अरूलाई प्रयोग गर्न दिएर अनुमतिपत्र दुरूपयोग गरेकाले ५०/ ५० हजार रुपैयाँ जरिवाना गरिएको महाशाखा प्रमुख कर्णले बताए।
शिक्षा समितिको बैठकमा नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले अनुमति नलिई सञ्चालनमा रहेको ९ वटा कलेज र एक प्रि स्कुल तथा कलेज संचालनका लागि आफ्नो अनुमतिपत्र दुरूपयोग गर्न दिने ९ वटा स्कुललाई कारबाहीको दायरामा ल्याउनु पर्ने राय सहितको अनुगमन प्रतिवेदन पेश गरेका थिए।
बैठकले अनुमति नलिएका शैक्षिक संस्थालाई भवन, कोठा भाडामा दिने घर धनीलाई घर बहाल कर दाखिला गर्न लगाउने र अब उप्रान्त अनुमति नलिएका शैक्षिक संस्थालाई घर, कोठा भाडामा नदिन पनि सचेत गराउने निर्णय गरेको छ।
शिलबन्दी भएका शैक्षिक संस्थाले तत्काल विधि प्रकृया पुर्याइ अनुमति माग गर्न आएमा नियमानुसार ती शैक्षिक संस्थालाई अनुमति प्रदान गर्न प्रकृया थालनी गर्ने महाशाखा प्रमुख कर्णले जानकारी दिए।