म्यानमारमा विवाह समारोह भइरहेको स्थलमा हवाई हमला हुँदा २१ जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो दक्षिणी शान राज्यस्थित मोए बाय गाउँमा विवाह समारोह भइरहेको ठाउँमा बम खसाल्दा २१ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
हमलामा ३५ जना घाइते भएका छन्।
यसअघि बिहीबार म्यानमारको मग्वे क्षेत्रको इन योन गाउँको एउटा विद्यालयमा पनि हवाई आक्रमण भएको थियो।
उक्त हमलामा विद्यार्थी, युवा बौद्ध भिक्षु र शिक्षकसहित कम्तिमा २० जनाको मृत्यु भएको पनि बिबिसीले जनाएको छ।
शनिबार साँझ पश्चिम म्यानमारको रखाइन राज्यस्थित म्राउक-यू सहरमा पनि हवाई आक्रमण भएको थियो।
स्थानीय समयअनुसार राति सहरको आवासीय क्षेत्रमा बम खसालेको थियो। उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको बताइएको छ।
यसरी बिहीबार यता भएको हमलामा ५१ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
म्राउक-यू क्षेत्र अराकान आर्मीको नियन्त्रणमा छ। अराकान आर्मी म्यानमारको सैनिक शासनविरुद्ध लडिरहेका प्रमुख विद्रोही समूहहरूमध्ये एक हो।
यी आक्रमणबारे म्यानमारको सैनिक नेतृत्वको सरकारले कुनै प्रतिक्रिया दिएको छैन।
सन् २०२१ मा सेनाले निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेपछि म्यानमार गृहयुद्धमा फसेको छ।
तत्कालीन नेतृ आङ सान सुकीको नेतृत्वमा रहेको सरकारलाई हटाएर सेनाले सत्ता आफ्नो हातमा लिएको थियो।
त्यसयता देशका विभिन्न क्षेत्रमा सेना र विद्रोही समूहबीच निरन्तर लडाइँ हुँदै आएको छ। यस क्रममा विद्रोही सेनाले हवाई आक्रमणसमेत गर्दै आएको छ।