दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
हाल छिल्लीकोट पुग्ने सडक कच्ची र साँघुरो छ।
वर्षायाममा हिलाम्मे हुने सडक अन्य समयमा धुलाम्मे हुन्छ। यसले गर्दा आवतजावत गर्न निकै कठिन हुने गरेको स्थानीय प्रविर पुनले बताए।
‘यो पर्यटकीय क्षेत्र हो, तर सडक कच्ची छ,' उनले भने, 'यसले गर्दा पर्यटकलाई आवतजावत गर्न निकै समस्या हुने गरेको छ।’
हाल छिल्लीकोट पुग्न दुईवटा सडक छन्। दूधरस–सङ्ग्राम हुँदै र विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्न सकिन्छ। तीमध्ये विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडकका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
\वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाबाट २८ लाख र प्रदेश सरकारबाट ४१ लाख रुपैयाँ विनियोजन भएको हो। उक्त बजेटबाट सडक कटिङ र नाला निर्माण गरिनेछ।
‘यो बजेटले कालोपत्र गर्न पुग्दैन होला। अहिले सडक कटिङ र नाला निर्माण मात्रै हुन्छ,’ उनले भने, ‘पर्यटकीयस्थल भएकाले यहाँको सडक कालोपत्र गर्न आवश्यक छ।’
हाल छिल्लीकोट पुग्ने पर्यटकले सडकका कारण सास्ती खेप्नुपरेको छ।
दूधरस हुँदै छिल्लीकोट पुग्ने सडक सोनापुर सिमेन्ट उद्योगले निर्माण गरेको हो। उक्त सडकमा उद्योगका चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गर्छन्। यसले गर्दा पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको छ।
त्यस्तै, विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक निकै उकालो र साँघुरो छ। उक्त सडकमा दुईवटा गाडी एकैपटक आवतजावत गर्नसमेत कठिन हुन्छ।
‘छिल्लीकोट जाँदा सडकमा निकै समस्या रहेछ, धुलैधुलो हुने अवस्था छ,’ आन्तरिक पर्यटक रेशम खत्रीले भने, ‘सडक विस्तार भए सहज हुने थियो।’
सडकको अवस्थाकै कारण छिल्लीकोट पुग्न सास्ती खेप्नुपरेको उनको अनुभव छ। बजेट विनियोजन भएपछि भने स्थानीय खुसी भएका छन्।
विजौरी–स्यालापानी सडकको स्तरवृद्धि भए पर्यटकलाई केही सहज हुने अपेक्षा स्थानीय प्रविर पुनले गरे।
छिल्लीकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले परिचित ठाउँ हो। बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले शासन गरेको प्राचीन दरबारका भग्नावशेष यहाँ अवलोकन गर्न सकिन्छ। धार्मिक दृष्टिले प्रसिद्ध कालिका र मालिका देवीका मन्दिरमा दर्शन तथा पूजाआजा गर्न सकिन्छ।
समुद्री सतहदेखि करिब एक हजार ४२० मिटर उचाइमा रहेको छिल्लीकोटबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खला देख्न सकिन्छ।
यहाँ पर्यटक आकर्षित गर्न जीपलाइनसमेत निर्माण गरिएको छ। तर, सञ्चालनमा आइसकेको छैन। यहाँ होमस्टे पनि सञ्चालनमा छन् भने व्यावसायिक लगानीसमेत बढिरहेको छ।
छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयको आम्दानी बढ्ने अपेक्षा गरिएको छ। त्यसैले यहाँको सडक स्तरोन्नतिलाई महत्त्वका साथ हेरिएको छ।