हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।
बिहीबार राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
पछिल्लो २४ घन्टामा देशका अधिकांश भू–भागममा वर्षा भएको छ। मौसम विभागका अनुसार बर्दियाको मानपुरमा १२०.२ मिलिमिटर वर्षा भएको छ। अर्घाखाँचीको राङसिङमा ११३ मिलिमिटर वर्षा भएको छ। बाँकेको नौबस्तामा ५८, म्याग्दीको मुनामा ८७.४, काठमाडौंको पानीपोखरीमा ७७.४, सिन्धुपाल्चोकको बाँसखर्कमा ७२.४, काठमाडौंको सुन्दरीजल, धापमा ४६.४, कीर्तिपुरमा ४०.८ मिलिमिटर वर्षा भएको छ।