लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न सडक खण्ड अवरूद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार काभ्रे, ललितपुर र खोटाङका विभिन्न सडक खण्ड अवरूद्ध भएका छन्।
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेर आवागमन अवरुद्ध भएको छ।
बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।