देशव्यापी रूपमा मनसुनको प्रभाव केही मत्थर देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।
पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यममात्रै वर्षा भएको छ। विभागका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा ४७ मिलिमिटर, लमजुङको बेसीसहरमा ५५ मिलिमिटर वर्षा भएको छ।
मंगलबार बिहान देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरू र तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार राति देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।