प्रकृति पुजनको पर्व छठ शनिबारदेखि विधिवत रूपमा सुरू भएको छ। पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन ब्रतालुहरू सबेरै उठेर संभव भएसम्म नजिकको नदी, तलाउ, धारामा नुहाउँछन्। लसुनप्याज नहालेको शुद्ध खानेकुरा चोखो भाँडोमा तयार गरेर खान्छन्। नहाय खायदेखि नै बिहान आँपको काँचो सिन्काले ब्रस गर्छन्। नुहाएर चोखो हुन्छन्। दिनभर निर्जला ब्रत बस्छन्।
छठको ब्रत सुरू भएपछि भोजपुरी क्षेत्रका छठ घाटमा ‘शिरसोप्ता’ बनाउने चलन छ। छठ घाटमा फरक आकार प्रकारका शिरसोप्ता देख्न सकिन्छ।
कतिपयले ‘पिरामिड’ जस्तो, कतिपयले गुम्बा त कतिपयले पिण्ड जस्तै शिरसोप्ता बनाउँछन्।
प्रत्येक वर्ष नहाय खायकै दिनदेखि ब्रतालु परिवारका पुरूष सदस्यहरू छठ घाट पुग्छन्। गोबर माटो मुछेर शिरसोप्ता तयार गर्छन्, कतिपयले इँटाको प्रयोग गर्छन् भने कतिपयले माटो र गोबरले मात्रै तयार गर्ने परम्परा छ। सुकिसकेपछि त्यसलाई रंगरोगन गरेर आकर्षक बनाइन्छ। हिजोआज सिमेन्ट बालुवा, इँट प्रयोग गरेर स्थायी प्रकृतिको समेत बनाउन थालिएको छ।
-1761397145.jpg)
वीरगञ्ज महानगरपालिका- १० स्थित घडिअर्वा पोखरी परिसरको छठ घाट यहाँको लोकप्रिय छठ घाट हो। जहाँ ५ हजारको हाराहारीमा ब्रतालुहरू नै पुग्छन्। वीरगञ्ज ४ विर्ताका सुवास सिंह २० वर्षदेखि घडिअर्वा छठ घाटमै पूजा गर्छन्। शनिबार दुई जना सहयोगीको मद्दत लिएर उनले शिरसोप्ता तयार पारेका छन्। छठ पूजाको दिन १३ परिवारका ब्रतालुहरू शिरसोप्ताको वरपर बस्नेछन्।
सुवासका अनुसार छठी माताको मन्दिरको रूपमा यसलाई तयार गर्ने चलन छ।
‘पूजा गरिसकेपछि छठी मैया आएर बस्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘ब्रतालुहरू शिरसोप्ताको वरपर बसेर पूजाअर्चना गर्छन, गीत गाउँछन्। प्रसाद चढाउँछन्।’
पोखरी परिसरमा मानिसहरू शिरसोप्तामा आएर बसिदिने, खुट्टा लगाउने र खाएर जुठो फालिदिने हुँदा अस्थायी प्रकृतिको बनाउने गरिएको उनको भनाइ छ। माछामासु खान छोडेर शुद्ध भएपछि शिरसोप्ता बनाउन छठ घाटमा आउने गरेको उनले बताए।
वीरगञ्ज १० आदर्शनगरका शिव बचन शमा पनि हरेक वर्ष घडिअर्वा छठ घाटमा शिरसोप्ता बनाउन पुग्छन्।
उनले माटो र गोबर मुछेर शिरसोप्ताको आकार दिन्छन्। बिहानदेखि ३ जना मिलेर ५ वटा शिरसोप्ता तयार गरेको उनले सुनाए।
‘भोलि फेरि माटोले लिप्छौं, अनि पूजाको दिन यसलाई सिँगार्छौं,’ उनले भने, ‘सूर्यको प्रतिमूर्तिको रूपमा यसलाई पूजा गरिन्छ, हामीले पिरामिड आकारको बनाउने गरेका छौं।’
यस्तो शिरसोप्ता एक तहदेखि ११ तहसम्मको बनाएको देखिन्छ। कसैले पैसा तिरेर कामदार लगाउँछन् भने कतिपयले आफै तयार गर्छन्।
वीरगञ्ज रानीघाटका मुकेश कुमार गुप्ताले साथीभाइसँग मिलेर ५० जना ब्रतालुका लागि शिरसोप्ता तयार गरे।
घडिअर्वाका गोविन्द साह कानु परम्परागत रूपमा नै यसैगरी शिरसोप्ता तयार गर्ने गरिएको बताउँछन्।
भोजपुरी क्षेत्रमा लामो समयदेखि चल्दै आएको यो चलन मिथिला क्षेत्रमा खासै प्रयोग हुँदैन।
आफूले थाहा पाएदेखि नै माटोको पिरामिड आकारको मूर्ति बनाएर पूजा गर्ने चलन रहेको घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह बताउँछन्।
-1761397144.jpg)
‘छठी माईको आकार छैन, शिरसोप्तालाई नै माता मानेर छठी माताको पूजा गर्ने चलन छ,’ साहले भने।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव मनोहर साह आफूले थाहा पाएदेखि नै शिरसोप्ता बनाएर पूजा गर्ने चलन रहेको बताए।
‘ब्रतको दिन ब्रतालुहरू त्यसकै वरपर बसेर छठी माताको पूजा आराधना गर्छन्, सूर्य अस्ताउँदा र उदाउँदा मात्रै उठेर अर्घ्य दिन जाने हुन्,’ उनले भने।
स्थानीय रूपमा प्रचलित 'शिरसोप्ता' शब्दलाई केही अध्ययनकर्ताहरूले 'सिरसौता' वा 'सिरिस्तूप' बाट विकसित भएको अनुमान गर्छन्। 'सिर' (माथिल्लो भाग, शिखर) र 'स्तूप' (बुद्धस्तूप वा पवित्र गुम्बा) मिलेर बनेको यो रूप पछि मैथिली–भोजपुरी भाषामा रूपान्तरण हुँदा 'शिरसोप्ता' भएको तर्क उनको छ।
बौद्ध धर्मको प्राचीन प्रभाव क्षेत्रमा यो पर्व मनाइने हुँदा बौद्ध वास्तुकला र सूर्य–अर्घ्य परम्पराको समिश्रणले पछि छठको पूजा वेदीलाई 'सिरिस्तूप' अर्थात् 'सिरसोप्ता' को स्वरूप दिएको उनीहरू बताउँछन्।
वीर कुँवर सिंह विश्वविद्यालयका प्राध्यापक राजेन्द्र प्रसाद सिंहले छठ पर्व बौद्ध धर्मको प्रभाव क्षेत्रमा मनाइने गरिएको तर्क गर्दै आएका छन्।
-1761397144.jpg)