सुनिता साफी प्रायः जसो अस्पताल धाइरहन्थिन्।
उनलाई टाउकोमा कीरा हिँडिरहेजस्तो लाग्थ्यो। यही समस्या लिएर उनी धेरै ठाउँ, धेरै पटक जँचाउन पुगिन्। अस्पताल जाँदा प्रायः आफ्ना छोरा सत्यनारायणलाई लिएर जान्थिन्।
त्यति बेला सत्यनारायण १४–१५ वर्षका मात्र थिए।
सिराहा बरियारपट्टी गाउँपालिका वडा नम्बर २ घर भएकी सुनिताका पाँच सन्तानमध्ये सत्यनारायण जेठा हुन्। उनका श्रीमान मधुरी रोजगारीका निम्ति विदेश थिए। त्यसैले उनको सबै आडभर सत्यनारायणमाथि थियो।
सुनिताको रोग कहीँ पहिचान भएन।
'सिटी स्क्यान गर्थे। केही देखिएन भन्दै सामान्य औषधि दिएर पठाइदिन्थे। एक–दुई दिन औषधि खाँदा निको हुन्थ्यो। औषधि छाडेपछि आमा फेरि गाह्रो भयो भन्नुहुन्थ्यो,' सत्यनारायणले भने, 'डाक्टरले रोग पत्ता लगाउन नसकेको र आमा पीडाले पिरोलिएको देखेर आफै डाक्टर बन्ने सपना देखेँ। जुन अहिले पूरा भयो।'
हाल २१ वर्षका सत्यनारायण साफी उनै हुन् जसको अहिले सामाजिक सञ्जालमा चर्चा छ। मजदुरी गरेर पढ्दै आएका उनले एमबिबिएस पढाइका निम्ति पूर्ण छात्रवृत्तिमा नाम निकालेको भन्दै धेरैले उनको मेहनतको प्रशंसा गरिरहेका छन्।
'तर जुन बेला मैले डाक्टर बन्छु भन्ने सोचेँ, त्यति बेला के, कसरी पढेपछि डाक्टर बन्न सकिन्छ भन्ने थाहा थिएन,' उनले भने, 'डाक्टर बन्ने सपना चाहिँ देखिरहेँ।'
यो सपनाको बिउ रोपिँदा उनी गाउँकै जनता माध्यमिक (प्राविधिक) विद्यालयमा कक्षा ९ मा पढ्दै थिए। पढाइ उनको ठिकै थियो।
डाक्टर बन्न राम्रो अंक ल्याउनुपर्छ र धेरै मेहनत गरेर पढ्नुपर्छ भन्ने उनले थाहा पाए। त्यसपछि उनले आफ्नो दैनिकी बदलिदिए। दिनमा २० घन्टासम्म पढ्न थाले।
२०७७ सालमा एसइई दिएका उनले ३.९५ जिपिए ल्याए।
सत्यनारायणको यो परिवर्तन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरवल यादव पनि सरहाना गर्छन्।
'आठ कक्षासम्म सत्यनारायण राम्रै विद्यार्थी थिए, उत्कृष्ट भने थिएनन्। पछि उनले आफूलाई बदले। कम बोल्ने तर गहिरो अध्ययन गर्ने स्वभाव उनमा थियो,' प्रधानाध्यापक यादवले भने, 'कक्षा ९ को परीक्षादेखि नै उनको नतिजा राम्रो आयो।'
सत्यनारायण विराटनगरको अरनिको स्कुल भर्ना भए र विज्ञान विषयमा प्लस–टू पढे। २०७९ सालमा प्लस–टू उत्तीर्ण भइसक्दासम्म उनलाई एमबिबिएस पढ्न के के गर्नुपर्छ भन्ने स्पष्ट भइसकेको थियो।
'मेहनत गरे पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकिन्छ भन्ने विश्वास थियो। त्यसै अनुसार तयारीमा लागेँ,' सत्यनारायणले भने।

त्यो बेलासम्म उनका बुबा पनि विदेशबाट फर्किसकेका थिए। उनका बुबाआमा दुवै घर निर्माणको काममा ज्याला–मजदुरी गर्न जान्थे। सत्यनारायण पनि उनीहरूसँगै मजदुरी गर्न गए।
एमबिबिएस पढ्न चिकित्सा शिक्षा आयोगको परीक्षा दिनुपर्छ। त्यसको फर्म शुल्क, काठमाडौं आउजाउ र बसाइ खर्च जुटाउन उनलाई समस्या भयो। त्यसैले अर्को वर्ष मात्र परीक्षा दिने सोचे। ज्याला–मजदुरी गर्दै परीक्षाको तयारी गरिरहे।
उनीहरूको परिवारकै आम्दानीको स्रोत ज्याला–मजदुरी हो। आमा, बुबा र सत्यनारायणको कमाइले सात जनाको परिवार चल्छ।
'बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न जान्छु। दिनभर भारी बोकेर फर्किए पनि म कहिल्यै छिटो सुतिनँ,' सत्यनारायणले भने, 'साँझ ६ बजेदेखि राति १–२ बजेसम्म पढ्थेँ।'
घरखर्च दिएर बचेको केही पैसा उनी किताब, कापीमा खर्चिन्थे। केही जोगाएर राख्थे।
२०८१ सालमा चिकित्सा शिक्षा आयोगको परीक्षा फर्म खुल्यो। उनी काठमाडौं आए र परीक्षा दिए। तर नाम सार्वजनिक भएन।
'बुझ्दा प्राविधिक त्रुटि भएको भनियो,' सत्यनारायणले भने, 'त्यसपछि धेरै सोधपुछ गरिनँ। निराश नभई फेरि मजदुरीसँगै पढाइमै लागिरहेँ।'
२०८२ कात्तिक १५ गते उनले दोस्रो पटक परीक्षा दिए। मंसिर २४ गते नतिजा आयो। सामाजिक सञ्जाल र स्मार्ट फोन नचलाउने सत्यनारायणले नतिजा आएको तीन–चार दिनसम्म थाहै पाएनन्।
चार दिनपछि उनीसँगै परीक्षा दिएका साथीले फोन गरेर सुनाए।
'रिजल्ट हेर्यौ भनेर फोन आएपछि मात्र थाहा भयो,' सत्यनारायणले भन्छन्, 'बुझ्दै जाँदा पूर्ण छात्रवृत्तिमा नाम निस्किएको रहेछ।'
त्यो दिनजस्तो खुसी उनलाई जीवनमा कहिल्यै लागेको थिएन। परिवार मात्र होइन, गाउँभरि नै खुसियाली छायो।
'दलित समुदायको छोरो डाक्टर पढ्न लागेको खबरले गाउँमा हलचल नै ल्यायो,' उनले भने।
पूर्ण छात्रवृत्ति पाए पनि खर्च लाग्छ कि लाग्दैन भनेर उनी विभिन्न कलेजमा बुझ्न थाले। ४०–५० हजार रूपैयाँ लाग्ने रहेछ भन्ने बुझे। ज्याला–मजदुरीबाट उनी यति पैसा बचाउन सक्थेनन्। त्यसैले ८० हजार रूपैयाँ ऋण गरे।
यही पुस ४ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ पुगेर उनले एमबिबिएस पढ्न आफ्नो नाम टिपाए।
'कलेजमा धरौटीवापत ५० हजार, रजिस्ट्रेसन शुल्क ११ हजार र स्वास्थ्य बीमामा ३ हजार ५ सय रूपैयाँ बुझाएँ। आउजाउ भाडा समेत गर्दा ८० हजार रूपैयाँ सकियो,' उनले भने।
पूर्ण छात्रवृत्ति पाए पनि अब पढाइ अवधिभर खान, बस्न, किताब, स्टेसनरी सामान लगायत किन्न मासिक ३०–४० हजार रूपैयाँ खर्च जुटाउन गाह्रो भइरहेको उनी बताउँछन्।
'कलेजमा नाम टिपाएर आए पनि मासिक खर्च कसरी जुटाउने भन्ने पिर छ,' सत्यनारायणले भने, 'ऋण माग्ने ठाउँ पनि धेरै छैन। भएका आफन्तहरूसँग लिइसकेका छौं।'
उनका बारेमा सामाजिक सञ्जालमा चर्चा भएपछि केही व्यक्तिहरूले आर्थिक सहयोग गर्न थालेका छन्।
सत्यनारायणका अनुसार अहिलेसम्म २ लाख ३४ हजार रूपैयाँ जम्मा भएको छ।
'यसरी सहयोग आउँदा डाक्टर बन्ने सपना पूरा हुने आश पलाएको छ,' उनले भने।
उनलाई अहिले समाजसेवी र स्थानीय तहका व्यक्तिहरूले घरै आएर बधाइ दिइरहेका छन्। केहीले आर्थिक सहयोग पनि गरे।
सत्यनारायणको उपलब्धिमा उनका आमाबुबा धेरै खुसी छन्।
'नाम निस्कियो, कति धेरै खुसी छौं,' आमा सुनिताले भनिन्, 'तर खर्च कसरी जुटाउने भन्ने चिन्ता छ। बेचबिखन गर्न केही सम्पत्ति छैन। जे छ, अब भगवानको हातमा छ।'
खर्च जुटाउन नसक्दा छोराको पढाइ छुट्ने हो कि भन्ने चिन्ता उनका बुबा मधुरीलाई पनि छ।
'वैदेशिक रोजगारीमा गए पनि दुई छाक खुवाउनबाहेक केही गर्न सकिनँ,' मधुरीले भने, 'अब छोरो डाक्टर बन्ने सपना देखिरहेको छ। कसरी पूरा होला भन्ने सोचिरहेको छु।'