मेक्सिकोको कुख्यात माफिया नाइके एल मेन्चो मारिएका छन्।
मेक्सिकोले सैन्य अपरेसन चलाएर आइतबार एलमेन्चोलाई नियन्त्रणमा लिएको थियो। मेक्सिको सिटी लैजाँदा लैजाँदै उनको मृत्यु भएको हो।
लागुऔषध ओसारपसार र आपराधिक गतिविधिमा सबैभन्दा कुख्यातमध्ये मानिने 'जेलिस्को न्यू जेनेरेसन कार्टेल (सिजेएनजी)'का प्रमुख थिए एल मेन्चो।
मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार ५९ वर्षीय एल मेन्चोको वास्तविक नाम नेमेसियो ओसेगेरा कार्भान्तेस हो।
आइतबार हलिस्को राज्यको तापाल्पा क्षेत्रमा मेक्सिकन सेनाले अपरेसन चलाएको थियो। सेना र कार्टेल सदस्यबीच भीषण मुठभेड भएको र एल मेन्चो गम्भीर घाइते भएका थिए।
मेक्सिकोको वायु सेना र राष्ट्रिय गार्डको सैन्य विमानसमेत परिचालन गरी कार्टेलविरूद्ध अभियान चलाइएको थियो। अपरेसनमा एल मेन्चो र उनको समूहका थप चार सदस्यीय मारिएको रक्षा मन्त्रालयले जनाएको छ। त्यहाँबाट बख्तरबन्द सवारीसाधन तथा रकेट लञ्चरसहितका हतियारसमेत बरामद गरिएको छ।
एल मेन्चो बसेको स्थानबारे मेक्सिको सरकारलाई अमेरिकाले खुफिया जानकारी उपलब्ध गराएको थियो। त्यसकै आधारमा मेक्सिकोले अपरेसन चलाएको र सफल भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लगातार लागुऔषध अमेरिकामा तस्करी भइरहेको र त्यसलाई रोक्न चेतावनी दिँदै आएका थिए।
अमेरिकामा फेन्टानिल लगायतका लागुऔषध तस्करीमा यही समूहको प्रमुख भूमिका रहेको भनिन्छ।
साथै कोकिन, मेथामफेटामिन र फेन्टानिलको ठूलो परिमाण तस्करी गरेको आरोप थियो। अमेरिकाले एल मेन्चोबारे सूचना दिनेलाई १ करोड ५० लाख डलरको इनाम दिने समेत घोषणा गरेको थियो।
सुरक्षा कारबाहीपछि कार्टेलले विभिन्न राज्यमा व्यापक हिंसात्मक प्रतिक्रिया जनाएको छ। सवारीसाधनमा आगजनी, सडक अवरोध र सुरक्षाकर्मीमाथि आक्रमणका घटना सार्वजनिक भएका छन्।
हलिस्कोको प्रमुख सहर ग्वाडलजारामा धुवाँका मुस्लो देखिएको भिडिओ सार्वजनिक भएको थियो। पर्यटकीय गन्तव्यसमेत रहेको हलिस्कोमा हजारौँ पर्यटक प्रभावित बनेका छन्। राज्यका गभर्नरले ‘रेड अलर्ट’ पालना गर्न र घरभित्रै बस्न आग्रह गरेका छन्।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले नागरिकलाई शान्त रहन अपिल गरेको छ।
एल मेन्चो कति खतरनाक थिए?
पूर्व अमेरिकी ड्रग एन्फोर्समेन्ट अधिकारी माइक विजिलले यस कारबाहीलाई लागुऔषध तस्करीको इतिहासकै महत्वपूर्ण अपरेसनमध्ये एक बताएका छन्। उनका अनुसार एल मेन्चो अत्यन्त संगठित, आक्रामक र सशस्त्र संरचना भएको कार्टेल प्रमुख थिए।
एल मेन्चो पूर्व प्रहरी अधिकारीसमेत हुन्। उनको नेतृत्वमा रहेको सीजेएनजीले सुरक्षा बल र सार्वजनिक अधिकारीमाथि श्रृंखलाबद्ध आक्रमण गर्ने, सैन्य हेलिकोप्टरमाथि रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गर्ने तथा सरकारी अधिकारीको हत्या गर्ने जस्ता घटनाबाट कुख्याति कमाएको थियो।
प्रतिद्वन्द्वी समूहलाई डराउन शव सार्वजनिक स्थानमा झुन्ड्याउने जस्ता क्रूर रणनीतिसमेत प्रयोग यो समूहले गरेको आरोप छ।
सन् २०१० तिर हलिस्को राज्यमा सीमित रहेको सीजेएनजी अहिले देशव्यापी सञ्जालमा फैलिएको छ। त्यति मात्रै होइन अमेरिकाको ५० वटै राज्यमा पनि यसको सञ्जाल रहेको भनेर द गार्डियनले लेखेको छ। अमेरिकी ड्रग एन्फोर्समेन्ट प्रशासनले यसलाई सबैभन्दा शक्तिशाली आपराधिक समूह 'सिनालोआ' कार्टेलको बराबरीमा राख्दै आएको छ।
सीजेएनजीले विशेषगरी फेन्टानिल उत्पादन र तस्करीबाट अर्बौँ डलर आम्दानी गर्ने गरेको बताइन्छ। योसँग सैन्यस्तरकै संरचना र हातहतियार रहेको भनिएको छ।
को हुन् एल मेन्चो?
एल मेन्चो मिचोआकान राज्यको अगिलिला क्षेत्रका बासिन्दा थिए। युवावस्थामा उनी अमेरिका गएका थिए। सन् १९९४ मा अमेरिकाको क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतले हेरोइन तस्करी दोषी ठहर गर्दै करिब तीन वर्ष जेल सजाय सुनाएको थियो। सजाय भोगेपछि उनी मेक्सिको फर्किएर पुनः लागुऔषध तस्करीमा सक्रिय भएका थिए।
उनले ‘नाचो कोरोनेल’ नामले चिनिने अर्का कुख्यात अपराधीसँग मिलेर लागुऔषध तस्करीको काम गरेका थिए।
कोरोनेलको मृत्यु भएपछि करिब सन् २००७ तिर एल मेन्चो र एरिक भ्यालेन्सिया सालाजार (उर्फ ‘एल ८५’)ले सीजेएनजी स्थापना गरेका थिए। पछि यो समूह विभाजन भएपछि एक अर्काको दुश्मन बनेको थियो। यसले रक्तपातपूर्ण संघर्ष चलेको थियो।
एल मेन्चोलाई पक्राउ गर्न मेक्सिकोको सेनाले सन् २०१५ मा पनि प्रयास गरेको थियो। त्यतिबेला कार्टेलका अन्य सदस्यहरूले रकेट लञ्चर प्रहार गरी सेनाको हेलिकप्टर खसालेको थियो।
सन् २०२० राजधानीमै तत्कालीन प्रहरी प्रमुखको हत्या प्रयास गरेको थियो।