नेपाल प्रहरीको प्रधान कार्यालयमा आर्टिफिसियल इन्टिलिजेन्स एन्ड एड्भान्स एनालाइटिक्स सेल (एआई-एएसी) सेल गठन भएको छ।
सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको उद्घाटन गरेका हुन्।
मन्त्री अर्यालले उक्त सेलको अवलोकन गरी सम्पादन हुने काम, प्रयोग र उपयोगिता लगायत विभिन्न गतिविधि बारेमा जानकारी लिएका थिए।
उद्घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो।
साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियान जस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा थप चुनौती थपिँदै गइरहेको प्रधान कार्यालयले जनाएको छ।
जेनेरेटिभ एआई, लार्ज ल्यान्ग्वेज मोडल, मेसिन लर्निङ, प्रिडिक्टिभ एनालाइटिक्स र अटोमेशनमा आधारित विश्लेषण प्रणालीको प्रयोग बिना सुरक्षा व्यवस्थापन प्रभावकारी नहुने भएकाले एआई सेलको गठन गरेको हो।
एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण भएको ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।
‘आम नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ। सामाजिक सञ्जालको दुरूपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ,’ उनले भने।