एउटा घना जंगलमा बसोबास गरेका जनावरहरूले बैठक आयोजना गरे। बैठकमा सहभागी हुन बाघ, घोडा, गिद्ध, मुसा, कुकुर, बाँदर, भेडा, सर्प, गाई लगायत जनावरको लश्कर अघि बढ्यो।
बैठकस्थल जान जंगल पार गरेर एउटा ठूलो नदी तर्नुपर्ने भयो।
अरू जनावर त नदी तर्न सक्ने भए तर मुसा कसरी तर्ने?
उसले उपाय निकाल्यो, गाईमाथि चढ्ने। गाईको पिठ्युँमा चढेर मुसाले नदी पार गर्यो।
अरू जनावरभन्दा अघि पुग्न मुसाले उपाय निकाल्यो। नदीको ओल्लो किनारबाट पल्लो किनार पुग्ने बेला गाईको पिठ्युँबाट मुसा किनारामा हाम फाल्यो।
यसरी मुसा सबभन्दा अघि बैठकस्थल पुग्यो।
बैठकमा सहभागी हुन पुगेको मुसाबाट गुरूङ समुदायले वर्ग गणना गर्न थाल्यो।
वर्ग गणनाका सन्दर्भमा गुरूङ समुदायको शास्त्र 'प्येँताँल्हुँताँ' अर्थात् शास्त्रका कुरा, कर्मका कुरा अनुसार ल्होसार चाडका विषयमा अर्को किम्बदन्ती पनि छ।
गुरूङ समुदायका पुरोहित ढ्यांग्रो बनाउन जंगलमा काठ काट्न गए। जंगलका सिमे–भुमे देवीदेवताहरूले काठ काट्न दिएनन्। ढ्यांग्रो बनाउने काठ काट्न गएका मानिस रित्तै फर्किए।
गाउँ फर्केका मानिससँग मुसाको भेट भयो। मान्छेले ढ्यांग्रो बनाउने काठ काट्न देवीदेवताले नदिएका कुरा मुसालाई सुनाए।
मुसाले उपाय निकाल्यो— पहिला प्रकृतिको पूजा गर्नू। रूखबिरूवाको पूजा गर्नू। खोलानाला, तालतलैया र झरनाको पूजा गर्नू। ढुंगा, माटो र वायुको पूजा गर्नू।
मुसाले पूजा गर्ने उपाय पनि सिकायो। गाउँका खेतीपाती— कोदो, गहुँ, जौ, उवा लगायत अन्नबालीको रक्सी बनाएर चढाउनू। जंगलमा रहेका धुप र फुलेका मगमगाउँदा फूलहरूको धुप पनि चढाउनू।
यसरी जंगलका रूखबिरूवा, खोलानाला, वायु, ढुंगा, माटो र सिमे–भुमे देवीदेवतालाई चढाएर प्रार्थना नगर्दासम्म ढ्यांग्रो बनाउने काठ काट्न नपाउने कुरा मुसाले सुनाएपछि मान्छेले त्यही अनुसार पूजाआजा गरे।
त्यसपछि देवीदेवताहरू खुसी भए।
मानिसले काठ काटेर ढ्यांग्रो बनाउन पाए। जंगलका उपजमा अधिकार पाए।
गुरूङ समुदायका शास्त्र 'प्येँताँल्हुँताँ' मा उल्लिखित किम्बदन्ती कथा हुन् यी।
यी कथा हामीलाई प्येँताँल्हुँताँमा विद्यावारिधि गरेका समाजशास्त्री डा. पोलबहादुर गुरूङले सुनाएका हुन्।
उनका अनुसार मुसाले मान्छेलाई मार्गदर्शन गरे अनुसार, अर्थात् बैठकमा मुसा सबभन्दा अघि पुगेकाले गुरूङ समुदायले समयको गणना गर्न वर्ग गन्ने परम्परामा मुसा वर्ग सबैभन्दा अघि राखिएको हो।
प्येँताँल्हुँताँ भनेको गुरूङ समुदायको शास्त्र र कर्मका कुरा हुन्। प्येँ भनेको शास्त्र, ताँ भनेको कुरा, ल्हुँ भनेको कर्म।
गुरूङ समुदायको इतिहास, संस्कार र संस्कृति मात्र यसमा उल्लेख छैन, उनीहरूको उदविकासका कथा पनि यो शास्त्रमा वर्णन गरिएको छ।
गुरूङको शास्त्र प्येँताँल्हुँताँ प्रकृतिमा आधारित रहेको डा. गुरूङ बताउँछन्।
ढुंगा, माटो, वायु, रूखबिरूवा, चराचुरूंगी, सौर्यमण्डल र तारामण्डलसँग गुरूङको शास्त्र जोडिएका छन्। संस्कार र संस्कृति त्यसैमा आधारित छन्।
'हाम्रा पुरोहितले सौर्यमण्डल, तारामण्डल, ढुंगा, माटो, बोटबिरूवा र खोलानालासँग संवाद गरेर संस्कार–संस्कृति निर्माण गरेको कुरा प्येँताँल्हुँताँको अध्ययनबाट थाहा हुन्छ,' उनले भने, 'सोही आधारमा समयको गणना गर्न थाले, जसलाई हामीले कालान्तरमा ल्होसार पर्व भन्न थाल्यौं।'
हरेक वर्ष पुस १५ गतेका दिन गुरूङ समुदायले ल्होसार पर्व मनाउँछन्। त्यही दिन वर्षको रात सबभन्दा लामो रात हुन्छ। सूर्य दक्षिणायनबाट उत्तरायण हुन्छ।
प्रकृतिलाई नै उनीहरूले धर्म मानेका छन्, संस्कृति मानेका छन्। प्रकृतिका आधारमै समयको गणना गरेका छन्। डा. गुरूङ यसलाई प्रकृतिमा आधारित जीववाद भन्न रूचाउँछन्।
'गुरूङको शास्त्र भनेको प्रकृतिवादमा आधारित छ। यसलाई जीववाद वा आत्मवादी पनि भन्न मिल्छ,' उनले भने, 'हाम्रो शास्त्रले प्रकृतिमा आधारित जीवनशैली मात्र बोल्दैन, हाम्रो विश्वदृष्टिकोण पनि पेस गरेको छ।'
गुरूङ समुदायले वर्ग अर्थात् वर्ष गन्ने परम्परा कहिलेदेखि थालनी गर्यो भनेर यकिन गर्न सकिएको छैन। उसले १२ वटा जनावरको नाममा वर्ग गन्छ। एउटा वर्गले एउटा वर्षलाई जनाउँछ।
अहिले गुरूङ समुदाय सर्प वर्गको बिदाइ गरेर घोडा वर्गको स्वागतमा ल्होसार मनाइरहेका छन्। ल्होसारमा नाचगान त गर्छन् नै, स्वँकै अर्थात् सामूहिक भोज खाएर सामूहिकता प्रदर्शन पनि गर्छन्।
डा. गुरूङका अनुसार पुस १४ गते जन्मिएका बच्चाको वर्ग गणना गर्दा पुस १५ गते २ वर्षको मानिन्छ। तर पुस १५ गते जन्मिएका बच्चा अर्को वर्षको पुस १४ गतेसम्म एक वर्षको हुन्छ भने पुस १५ लागेपछि २ वर्षको।
२०८२ पुस १५ गतेदेखि २०८३ साउन १४ गतेसम्म जन्मिएका बच्चाको वर्ग घोडा हुन्छ भने २०८१ पुस १५ देखि २०८२ पुस १४ सम्म जन्मिएको बच्चाको वर्ग सर्प हुन्छ। जुन वर्ग चलिरहेको छ, त्यो समयमा जन्मिएका बच्चा सोही वर्गका हुन्छन्।
यसरी गुरूङ समुदायले मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ वटा जनावरको नाममा वर्ग गणना गर्छ।
मंगलबारदेखि सुरू भएको घोडा वर्ग २०८३ पुस १४ गते सकिन्छ। त्यसपछि फेरि घोडा वर्ग आइपुग्न १२ वर्ष लाग्छ। यसरी १२ वर्ष पूरा भएपछि एउटा चक्र पूरा हुन्छ, जसलाई गुरूङ शास्त्रमा 'लकर' भनिन्छ।
गुरूङ समुदायले ऐतिहासिक परम्परादेखि यसरी समयको गणना गर्न थाले पनि कहिलेदेखि सुरू गरेका हुन् भन्ने यकिन छैन।
विक्रम सम्वत्, नेपाल सम्वत् वा इश्वी सम्वत् जसरी उनीहरू अंकमा समयको गणना गर्दैनन्। वर्गमा गन्छन्। जनावरको नामबाट वर्गको नामाकरण गरेका छन्।
समाजशास्त्री डा. गुरूङको अनुमानमा गुरूङ समुदायले यसरी वर्गका आधारमा समयको गणना गर्न थालेको मानिसको विकासक्रममा कृषि युग सुरू हुनुअघि नै हुनुपर्छ। किनकि कथाले कृषिका कुरा गर्दैनन्, जंगलका कुरा गर्छन्। जनावरहरूसँग मेलमिलाप र बैठकका कुरा गर्छन्। तिनै जनावरका नाममा समयको गणना गर्छन्।
'वर्गका आधारमा समय गणना गर्न थालेको मानव विकासको कृषि युगभन्दा अघिदेखि होला जस्तो लाग्छ मलाई,' डा. गुरूङले भने, 'नत्र भए एनिमिजमका कुरा कहाँबाट हाम्रो शास्त्रमा आयो? कम्तीमा पनि ३५–४० हजार वर्ष पुरानो हुन सक्छ।'
यसरी समय गणना गर्नुका पछाडि मानिसका उमेर थाहा पाउनु मात्र उद्देश्य थिएन, मानिसका शुभ र अशुभ समय थाहा पाउनु पनि थियो।
डा. गुरूङका अनुसार सबैभन्दा महत्वपूर्ण कुरा प्रकृतिको लय थाहा पाउनु थियो। कहिले पानी पर्छ, कहिले सुख्खा लाग्छ, कहिले खोलामा बाढी आउँछ, कहिले रूखका पात झर्छन्, त कहिले पलाउँछन् भनेर थाहा पाउन पनि मानिसले समयको गणना गर्न थाले। प्रकृतिका लयमा जीवनका लय मिलाउन पनि समयको गणना गर्नु आवश्यक ठाने।
गुरूङ समुदायले गणना गर्ने १२ वटा वर्गमध्ये प्रत्येक वर्ग बस्ने ८ वटा घर हुन्छन् जुन शुभ छ कि अशुभ भनेर पत्ता लगाउन पनि उनीहरूले समयको गणना गर्न थाले। जन्मदेखि मृत्युसम्मका संस्कार गर्न, राम्रा कामको थालनी गर्न, दुःखबिमार पत्ता लगाएर उपचार गर्न, संस्कार र संस्कृति बसाल्न पनि समयको गणना गर्न आवश्यक परेको उनले बताए।
वर्ग गणना गरेर छोरीबेटीलाई गुन्यूचोली दिनेदेखि विवाह, ब्रतबन्ध, छेवर गर्ने, शुभसाइत निकाल्ने जस्ता कार्य पनि समयको गणना गरेर निकाल्न थालिएको उनले बताए।
'गुरूङ समुदायले समयको गणना गर्न थालेको खासमा प्रकृतिको लय बुझेर जीवनको लय मिलाउन हो,' उनले भने, 'संस्कार संस्कृतिको विकास गर्न पनि समयको गणना गर्न थालेपछि सजिलो भएको देखिन्छ।'
गुरूङ समुदायको उदविकास भएको ठाउँ कास्कीको कोलासोंथरलाई मानिन्छ, जहाँबाट गुरूङहरू संसारभर फैलिए। गुरूङ समुदाय कोलासोंथर आउनुभन्दा अघिदेखिका कथा प्येँताँल्हुँताँमा पाइन्छन्, जुन चीन र मंगोलियासम्म पुग्छन्।
मंगोलियाको कोकोनर तालबाट उक्त समुदाय विकसित भएर फैलिएका कुरा प्येँताँल्हुँताँमा पाइने अर्का गुरूङ संस्कृतिकर्मी बेदबहादुर गुरूङ 'श्याम' बताउँछन्।
गीति लयमा रहेको प्येँताँल्हुँताँ इतिहासदेखि श्रुति परम्परामा संरक्षित छन्। गुरूङहरूको जन्मदेखि मृत्यु संस्कार गर्न पच्यु, घ्याब्री, बोनलमले गर्छन्। उनीहरू गुरूङ समुदायका पुरोहित हुन्।
तिब्बतमा बुद्ध धर्म फैलिएपछि गुरूङ समुदायमा पनि तिब्बती लामा लगाउने परम्परा मिसिएको छ। तर अधिकांश गुरूङ समुदायले भने घ्याब्री, पच्यु र बोनलमलाई पुरोहित मान्ने श्याम बताउँछन्।
उनका अनुसार यी तीन थरी पुरोहितका संस्कार विधिमा भिन्नता भए पनि कथाको सार उस्तै छ।
प्येँताँल्हुँताँले गुरूङ समुदायमा मानिसको जन्म, विवाह र मृत्यु संस्कार सिकाउँछ। यही संस्कारभित्र उनीहरूको उत्पत्तिका कथा जोडिएका छन्। घटनाक्रमहरू जोडिएका छन्। समयको गणना र गुरूङ समुदायको दर्शन, सामाजिक व्यवस्था र मूल्य–मान्यताहरू समावेश गरिएको डा. पोलबहादुर गुरूङ बताउँछन्।
'पृथ्वीको उत्पत्ति कसरी भयो, आकाश, पाताल, हावा, पानी, बादल, वनस्पति र जीवका उदविकासका कथा पनि हाम्रो प्येँताँल्हुँताँमा पाइन्छ,' उनले भने, 'ऐतिहासिक विकास क्रम मात्र होइन, आगामी दिनमा गर्नुपर्ने कार्यको मार्गनिर्देश पनि शास्त्रमा उल्लेख छ।'
गुरूङ समुदायका कथा भन्ने शास्त्रका कुनै लिखित दस्तावेज छैन। केही युवाहरूले गुरूङ भाषामा लिपिबद्ध गर्ने प्रयास गरेका छन्। केहीले गुरूङ भाषामै प्येँताँल्हुँताँलाई पुस्तकमा उतारेका छन्। तर यस शास्त्रमाथि गर्नुपर्ने काम धेरै भएको डा. गुरूङ बताउँछन्।
'पुरोहितले चेलालाई सिकाउने गरी श्रुति परम्परामा हाम्रो प्येँताँल्हुँताँ अहिलेसम्म संरक्षित छ। यसको गहिरो अनुसन्धान आवश्यक छ,' उनले भने, 'हाम्रो शास्त्रमा वर्णन गरिएको प्रकृति प्रेम, ज्योतिषशास्त्र, समयको गणना र सामाजिक संस्कार र संस्कृतिको संरक्षण गर्न पनि अनुसन्धान गर्नुपर्छ।'
गुरूङ समुदाय विश्वभर फैलिने क्रममा उनीहरूका संस्कृतिमा आइरहेको परिवर्तनले सामाजिक मूल्य–मान्यतामा पनि परिवर्तन आइरहेको उनले बताए। गुरूङ जातिको रैथाने ज्ञान जोगाउन र विश्वभर फैलाउन पनि वास्तविक प्येँताँल्हुँताँको अनुसन्धान र दस्तावेजीकरण आवश्यक रहेको उनको भनाइ छ।
अहिले ल्होसार मनाउन नाचगान र भोजभतेर गरिन्छ। शास्त्र भने यसरी मनाउनेबारे उल्लेख नभएको डा. गुरूङले बताए।
समयको गणना गर्न जनावरका नाममा वर्ग गन्ने परम्परा थालेपछि वर्ग परिवर्तन हुँदा गिठा–भ्याकुर खाएर मनाउने गरेको उनको अनुमान छ। त्यति बेला ल्होसार वा ल्होछार भन्ने चलन थिएन। यी दुई शब्द गुरूङको प्येँताँल्हुँताँमा पनि छैनन्।
अहिले कतिपय गुरूङ अगुवाहरू नै ल्होसार भन्ने कि ल्होछार भन्ने भनेर विवाद गरेको देख्दा डा. गुरूङ भने दिक्क मान्छन्।
प्येँताँल्हुँताँमा 'ल्होतुब' र 'ल्होस्यार्ब' भन्ने शब्द उल्लेख छन्। ल्होतुबले वर्ग फेरिने दिन अर्थात् पुस १५ गतेको दिनलाई जनाउँछ। ल्होस्यार्ब त्यो वर्षलाई अर्थात् पुस १५ देखि अर्को वर्षको पुस १४ गतेसम्मको समयावधिलाई भनिन्छ। गुरूङ समुदाय नेपालीभाषीको सम्पर्कमा पुगेपछि बोल्दाबोल्दै अपभ्रंश भएर र बोलीचाली गर्दै जाँदा कतिपय नेपाली शब्द पनि गुरूङ भाषाका शब्दमा मिसिन पुगेको डा. गुरूङ बताउँछन्।
जस्तो, गुरूङ समुदायले पुस १५ मा ल्होसारको आशिमाला भन्छन्। आशिमाला शब्द नेपाली भाषाबाट गुरूङ भाषामा पुगेको उनको तर्क छ। आशि भनेको नेपाली भाषाको आशीर्वाद वा आशिष हो। माला भनेको गुरूङ भाषाको शब्द 'मँल' बाट आएको हो। मँलको अर्थ दिने वा प्रदान गरिने भन्ने हुन्छ।
गुरूङ समुदायको संस्कार–संस्कृतिका आधारमा प्येँताँल्हुँताँ बने पनि पछि धर्मको विकास भयो। गुरूङहरू कोही बुद्ध धर्म मान्ने भए, कोही बोन धर्म। कोही हिन्दु त कोही क्रिश्चियन वा अन्य धर्म मान्न थालेका छन्।
डा. गुरूङ भने धर्मले विभाजन गर्ने मान्छन्। धर्मभन्दा पुरानो संस्कार–संस्कृति भएकाले गुरूङ समुदायलाई जोड्ने संस्कार र संस्कृति प्येँताँल्हुँताँमा उल्लेख भएको उनी बताउँछन्।
गुरूङ भाषा र लिपिमा पनि एकरूपता आवश्यक ठान्छन् उनी। यसका लागि समुदाय र राज्यका तर्फबाट गर्नुपर्ने काम धेरै देख्छन्।
'गुरूङ समुदाय कहाँबाट आए, कुन संस्कार र संस्कृति पछ्याउँछन् र कहाँ जान चाहन्छन् भनेर हाम्रो हजारौं वर्ष पुरानो शास्त्रले नै मार्गनिर्देश गरेको छ,' उनले भने, 'हामीले हाम्रो शास्त्रलाई राम्रोसँग अध्ययन गरेर मनन गर्न आवश्यक छ।'
गण्डकी प्रदेशका सांसदसमेत रहेका गुरूङ संस्कृतिकर्मी वेदबहादुर गुरूङ पनि राज्यका तर्फबाट गुरूङ समुदायको पहिचान, उसको संस्कार–संस्कृति र रैथाने ज्ञान परम्परा संरक्षण गर्न आवश्यक ठान्छन्।
गुरूङको शास्त्र प्येँताँल्हुँताँ हिन्दुहरूको गीता जस्तै महत्वपूर्ण रहेको भन्दै यसको संरक्षण र अध्ययन आवश्यक रहेको उनी बताउँछन्।
'प्येँताँल्हुँताँ गुरूङ भाषा र नेपाली भाषामा जस्ताको तस्तै पुस्तकका रूपमा निकाल्न आवश्यक छ,' उनी भन्छन्, 'यो गुरूङको मात्र होइन, नेपाल र मानव जगतकै एउटा विशिष्ट ज्ञान हो। यसको अध्ययन र संरक्षण आवश्यक छ।'