अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग हुने सम्झौतामा केही बुँदामा संशोधन खोजेका छन्।
इरानसँग अप्रत्यक्ष रूपमा वार्ता गरिरहेको अमेरिकी टोलीसँग शुक्रबार ट्रम्पले ह्वाइट हाउसको सिचुएसन रूममा २ घन्टा छलफल गरेका थिए।
छलफल क्रममा अमेरिकाले अडान लिँदै आएका केही बुँदामा संशोधन गर्न आफ्नो वार्ता टोलीलाई अह्राएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
विशेषगरी इरानको आणविक कार्यक्रम, ऊसँग भएको उच्च प्रशोधित युरेनियम र हर्मुजको विषयमा ट्रम्पले तेहरानबाट थप स्पष्टता खोजेको सिचुएसन रूमको छलफलबारे जानकार स्रोतहरूलाई उल्लेख गरेर एक्सियसले लेखेको छ।
इरानले भविष्यमा कहिल्यै आणविक हतियार बनाउने, करिब ४०० किलो उच्च प्रशोधित युरेनियम हस्तान्तरण र हर्मुजमा विना अवरोध जहाजको आवागमन सुनिश्चित गर्न ट्रम्पले मस्यौदामा रहेको बुँदाहरू संशोधन गर्न लगाएका हुन्।
हालको समझदारीपत्र (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) मा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाएको भए पनि त्यसबाहेक ठोस प्रतिबद्धता समावेश छैन।
प्रारम्भिक मस्यौदाअनुसार इरानको आणविक कार्यक्रम र अमेरिकाले लगाएका प्रतिबन्ध हटाउने विषयमा ६० दिनभित्र विस्तृत वार्ता हुने व्यवस्था गरिएको छ।
यस अवधिमा इरानसँग रहेको समृद्ध युरेनियम कसरी व्यवस्थापन गर्ने र थप युरेनियम प्रशोधनलाई कसरी सीमित गर्ने भन्ने विषय प्राथमिकतामा रहने उल्लेख छ।
तर ट्रम्पले यही खण्डमा संशोधन चाहेका छन्।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार ट्रम्पको चासो अमेरिकाले आणविक सामग्री कसरी प्राप्त गर्छ र त्यसको समयसीमा के हुन्छ भन्ने विषयलाई अझ स्पष्ट बनाउने मा केन्द्रित छ।
यससँगै ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनसम्बन्धी भाषा पनि संशोधन गर्न चाहेको बताइएको छ।
विश्व ऊर्जा आपूर्तिका दृष्टिले रणनीतिक मानिने उक्त जलमार्ग हालको तनावका कारण अन्तर्राष्ट्रिय चासोको केन्द्रमा छ।
अमेरिकी अधिकारीका अनुसार संशोधित प्रस्तावबारे इरानको प्रतिक्रिया आउन करिब तीन दिन लाग्न सक्छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले सम्झौता नजिक पुगेको तर अन्तिम रूप नपुगेको बताएका छन्।
त्यहाँको रिपोर्टमा इरानले रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्ति प्राप्त गर्न सक्ने दाबी गरिएको छ। तर ह्वाइट हाउसले उक्त दाबी अस्वीकार गरेको छ।
'सम्झौता अवश्य हुन्छ, तर कहिले हुन्छ भन्ने हेर्न बाँकी छ। राष्ट्रपति जे चाहन्छन् त्यो सुनिश्चित गर्न हामी प्रतीक्षा गर्न तयार छौं। यो एक हप्ता पनि लाग्न सक्छ, कम वा बढी पनि हुन सक्छ,' ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भनेका छन्।