धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ ।
संघ सरकारले तत्काले बेलीब्रिज जडानका लागि सम्भव नभएको भनेपछि धादिङका १३ वटै पालिकाको समन्यवमा आफैँ पहल गरेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको उक्त अस्थायी पुल फुर्केखोला ल्याएका हुन् ।
एक दशकदेखि थन्क्याएर राखिएकाले यो पुल रंगरोगन गरेर जडान गरिने छ।
पुलमा शनिबारदेखि रंगरोगनको काम सुरु गरिने ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिए।
त्यसपछि तिहार लगत्तै यसको जडान कार्य सुरु गरिने उनले जानकारी दिए।
पुल जडान गर्न बढीमा एक हप्ता समय लाग्ने अनुमान छ।
बर्दियाबाट पुल ढुवानी गर्दा भएको खर्च र जडानमा हुने खर्च स्थानीय तह आफैंले व्यहोर्ने छन् ।
पेन्टुन ब्रिज भनेको नदी, खोला वा अन्य जलाशयमाथि पानीमा तैरिन सक्ने संरचनाहरू जोडेर निर्माण गरिने अस्थायी पुल हो।
यसमा फलामे ड्रम, खोक्रा धातुका संरचना वा विशेष किसिमका तैरिने प्लेटफर्मलाई एकआपसमा जोडेर पुलको आधार तयार गरिन्छ।
त्यसको माथि फलामे पाता वा सडक संरचना राखेर मानिस तथा सवारीसाधन आवतजावत गर्न मिल्ने बनाइन्छ।
सामान्यतया स्थायी पुल निर्माण हुन नसकेको, बाढीपहिरोका कारण पुल भत्किएको वा आपत्कालीन अवस्थामा यातायात सञ्चालन गर्न यसको प्रयोग गरिन्छ।
पेन्टुन ब्रिज तुलनात्मक रूपमा छिटो जडान गर्न सकिने भएकाले विपद्का बेला आवतजावत सहज बनाउन उपयोगी हुन्छ।
वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत चलेपनि मुख्य लाइफलाइन मानिने पुल बगाएपछि पछिल्लो ७० दिनदेखि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका अन्य बजार आवतजावत कठिन बनेको छ।
२०५६ सालमा निर्माण गरिएको फुर्केखोला पुल १ सय १८ मिटर लम्बाइको स्टिल प्लेट गर्डर पुल थियो ।
प्रमुख पुल बगाएपछि धादिङका सर्वसाधारण अहिले वैकल्पिक सडकको भर पर्नुपरेको छ । साना तथा मालवाहक सवारी धादिङकै मासटार, गोरखा हुँदै आउजाउ गर्न मिल्ने विकल्प छ ।
कतिपय ठाउँमा हिलो र कच्ची रहेकाले वैकल्पिक सडकको यात्रा सहज भने छैन । पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ ।
मालवाहक सवारीका लागि भने मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट–सल्यानटार हुँदै धादिङबेँसी पुग्ने लामो मार्ग प्रयोग भइरहेको छ।
यसैगरी, धादिङबेँसीबाट काठमाडौं आउजाउका लागि सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी पुग्ने वैकल्पिक सडक पनि प्रयोग गर्न सकिने अवस्था छ।
तस्बिरहरूः
-ink-1794025854.jpeg)
-ink-1794025854.jpeg)
-ink-1794025854.jpeg)
-ink-1794025854.jpeg)
-ink-1794025855.jpeg)
-ink-1794025855.jpeg)
-ink-1794025855.jpeg)
-ink-1794025854.jpeg)
-ink-1794025854.jpeg)
तस्बिर : शंकर श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी