वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई वीरगञ्जस्थित पर्सा जिल्ला अदालत परिसरबाट सोमबार नियन्त्रणमा लिएको हो।
लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले नगर प्रमुख राजेशमान विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यही विषयमा कानूनी प्रक्रिया बुझ्नका अदालत गएको बेला प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको नगर प्रमुखको सचिवालयले जनाएको छ।
पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले नगरप्रमुख राजेशमानका बारेमा सोधपुछ गर्नका लागि स्वकीय सचिव सत्यराजलाई नियन्त्रणमा लिएको जानकारी दिए।
'उहाँलाई पक्राउ गर्नुपर्ने कुनै कारण छैन, सोधपुछका लागि ल्याएका हौं,' उनले भने, 'अहिले सोधपुछ चलिरहेको छ।'
जेठ ८ गते अदालतले नगरप्रमुख राजेशमान लगायत तीन जना विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
जेठ १२ गते पक्राउ पुर्जी प्रहरी कार्यालय पुगेको थियो। जेठ १३ गते बुधबार नगरप्रमुख राजेशमान पर्सा जिल्ला अदालत पुगेका थिए तर अदालतले कार्यव्यस्तता रहेको जनाएपछि उपस्थित लगायत कानुनी प्रक्रिया सुरू हुन सकेन। प्रशासनबाट जानकारी पाएपछि अदालतबाट फर्किएको उनले बताएका थिए।
पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी मुद्दामा राजेशमान, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज.महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
नगरप्रमुख राजेशमानले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोप लागेको थियो।