कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ ।
खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो। पहिरो खस्दा मान्मा बजारको मुख्य सडक र उक्त घर नै भासिएको थियो।
निर्माणधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन्। भदौमा पहिरो खसेयता निर्माण कार्य प्रभावित छ ।
पालिकाका उपप्रमुख गणेशबहादुर शाहीले भवन बनेपछि पहिरोको समस्या स्वतः समाधान हुने दाबी गरे।
‘भवन बनाएपछि त्यहाँपछाडि पर्खाल लाग्छ । त्यो भएपछि पहिरोको जोखिम टर्छ,’ उनले भने।
गत भदौमा भत्किएको एउटा घरको क्षतिपूर्तिका लागि मूल्यांकन गरेर जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा जानकारी गराइएको उपप्रमुख शाहीले बताए।
नगरपालिकाको आर्थिक क्षमताभन्दा धेरै भएकाले क्षतिपूर्तिमा संघ सरकारलाई आग्रह गरिएको उनको भनाइ छ।
पर्खाल नलगाएमा निर्माणस्थल आसपासका १२ वटा घर पहिरोको जोखिममा रहेको उनले सुनाए।
यो भवन निर्माण राष्ट्रिय राजमार्गको मापदण्डपिवरीत भएकाले निर्माण कार्य रोक्न गत वैशाखमा सडक डिभिजन जुम्लाले नगरपालिकालाई पत्र काटेको थियो।
राजमार्गको ३१ मिटर दायाँ–बायाँसम्म पक्की संरचना बनाउन सार्वजनिक सडक ऐन, २०३१ ले रोक लगाए पनि ६ मिटरमात्र छोडेर भवन बनाइँदै छ। सडक सुरक्षामा जोखिम निम्तिने, विस्तारमा समस्या हुने, भविष्यमा भत्काउन परेमा राज्यको लगानी खेर जाने जोखिम रहेकाले निर्माण कार्य रोक्न सडक डिभिजन जुम्लाले आग्रह गरेको थियो।
तर, नगरपालिकाले त्यसलाई अटेर गर्दै निर्माण कार्य अघि बढाएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत साउनमा कर्णाली भ्रमणको क्रममा निर्माण कार्य रोक्न नगरपालिकालाई निर्देशन दिएका थिए।
उनले मन्त्रिपरिषदबाट निर्णय गरेर अर्को भवनको व्यवस्था गर्ने आश्वासन दिएका थिए। तर, नगरपालिका भने जसरी पनि भवन निर्माण गरेरै छोड्ने पक्षमा छ । उपप्रमुख शाहीले मुख्य ठेकेदारलाई बोलाइएको र तिहारपछि काम थालिने बताए ।
भवन निर्माणको ठेक्का काठमाडौँको आरएनसिएस बिल्डर्सले १९ करोड ६२ लाख रुपैयाँमा पाएको थियो। सात तले भवन निर्माण तीन वर्षभित्र सक्ने सम्झौता रहेकोमा २०८१ माघमा शिलान्यास गरिएको थियो ।
तस्बिरहरूः
-ink-1793506543.jpeg)
-ink-1793506543.jpeg)
-ink-1793506543.jpeg)
-ink-1793506543.jpeg)
-ink-1793506543.jpeg)
-ink-1793506542.jpeg)
-ink-1793506542.jpeg)
-ink-1793506542.jpeg)
-ink-1793506542.jpeg)
-ink-1793506542.jpeg)
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी