पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका विभिन्न विभागमा कार्यरत पारामेडिक्स सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गर्दै उनीहरूले आन्दोलन थालेका हुन्।
आन्दोलनमा सहभागी स्वास्थ्यकर्मीहरूले अस्पतालको आकस्मिक सेवा र सघन उपचार कक्ष (आइसियू) मा उपचाररत बिरामीको सेवा भने नरोकिएको बताएका छन्।
अस्पतालकी मेडिकल टेक्नोलोजिस्ट शान्ति केसीका अनुसार स्वास्थ्यकर्मीहरूले यसअघि पटक–पटक अस्पताल प्रशासनलाई लिखित रूपमा न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरेका थिए। तर मागको सुनुवाइ नभएपछि आन्दोलनमा जान बाध्य भएको उनले बताइन्।
‘हामीले प्रशासनलाई पत्रमार्फत सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरेका थियौं,’ केसीले भनिन्, ‘लामो समयसम्म पर्खियौं, तर कुनै प्रतिक्रिया आएन।’
-1780387788.jpg)
गत वर्ष नर्सहरूको आन्दोलनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा पारामेडिक्सलाई नेपाल सरकारको पाँचौं तह सरह सेवा–सुविधा उपलब्ध गराउन परिपत्र जारी गरेको थियो।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूका अनुसार उक्त निर्णयअनुसार नर्सहरूको तलब वृद्धि भए पनि पारामेडिक्सको पारिश्रमिक भने यथावत् राखिएको छ।
अस्पतालकी फार्मासिस्ट सपना बरालले सरकारले तोकेको न्यूनतम तलब ३४ हजार ७३० रुपैयाँ भए पनि आफूहरूले मासिक १९ हजार ३०० रुपैयाँ मात्र पाउँदै आएको बताइन्।
‘हामीले पाउने तलबले सामान्य घरखर्च धान्नसमेत कठिन छ,’ उनले भनिन्।
आन्दोलनमा प्रयोगशाला, डेन्टल, फार्मेसी, फिजियोथेरापी, रेडियोलोजी, सिएमए लगायत विभागका कर्मचारी सहभागी छन्।
आन्दोलनरत पक्षका अनुसार अस्पतालमा यस्ता विभागमा करिब १५० स्वास्थ्यकर्मी कार्यरत छन् र अधिकांश आन्दोलनमा सहभागी भएका छन्।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले आन्दोलन सुरू भएपछि अस्पताल प्रशासनले केही विभागमा अस्थायी रूपमा अन्य कर्मचारी परिचालन गरेर सेवा सञ्चालन गरेको आरोप लगाएका छन्। उनीहरूले फार्मेसीसम्बन्धी औपचारिक शिक्षा नलिएका व्यक्तिलाई औषधि वितरण कक्षमा खटाइएको दाबी गरेका छन्।
अस्पतालका सूचना अधिकारी कृष्ण पौडेलले भने उक्त आरोप अस्वीकार गरे। पारामेडिक्सको जिम्मेवारी रहेका विभागहरूमा योग्य स्वास्थ्यकर्मी नै खटाइएको उनको भनाइ छ।
-1780387789.jpg)
‘नन–मेडिकल व्यक्ति खटाइएको भन्ने कुरा सही होइन,’ पौडेलले भने, ‘त्यस्ता व्यक्तिले ती विभाग सञ्चालन गर्न सक्दैनन्।’
पौडेलका अनुसार पारामेडिक्सको तलब सम्बन्धी मागबारे अस्पताल व्यवस्थापन, आन्दोलनरत स्वास्थ्यकर्मी तथा निजी अस्पतालहरूको छाता संगठनबीच छलफल भइरहेको छ।
‘गत वर्ष नर्स आन्दोलनपछि भएको सहमतिअनुसार नर्सहरूको तलब समायोजन गरिएको थियो,’ उनले भने, ‘पारामेडिक्सले पनि सरकारले तोकेअनुसारको तलब माग गर्नुभएको छ। त्यस विषयमा छलफल जारी छ।’
पारामेडिक्सको आन्दोलनसँगै निजी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा–सुविधा सम्बन्धी प्रश्न फेरि चर्चामा आएको छ।
-1780387788.jpg)
-1780387788.jpg)