वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक ओन्कोलोजी (सिओग) को नेपालका लागि राष्ट्रिय प्रतिनिधिमा नियुक्त भएका छन्।
सन् २००० मा स्थापना भएको सिओजीले विश्वभर ज्येष्ठ नागरिकमा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ।
हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल ओन्कोलोजी विभागमा असिस्टेन्ट प्रोफेसर तथा सिनियर कन्सल्टेन्ट रहेका डा. शाहीले बंगलादेशको बीएसएमएमयूबाट मेडिकल ओन्कोलोजीमा एमडी गरेका छन्।
उनी युरोपियन सर्टिफाइड मेडिकल ओन्कोलोजिस्ट (ईस्मो) समेत हुन्। हालै उनी प्रतिष्ठित ‘आस्को नेतृत्व विकास कार्यक्रम २०२६–२०२७’ का लागि पनि चयन भएका थिए।
नयाँ जिम्मेवारीसँगै डा. शाहीले नेपालमा जेरियाट्रिक ओन्कोलोजी अर्थात् वृद्धवृद्धामा हुने क्यान्सर उपचारको क्षेत्रलाई सुदृढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उनले क्यान्सर रोग विशेषज्ञ, ज्येष्ठ नागरिक रोग विशेषज्ञ तथा सरकारी निकायबीच समन्वय बढाउँदै उपचार सेवामा सुधार र नेपाली स्वास्थ्य क्षेत्रका उपलब्धि तथा चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।