सशस्त्र प्रहरी बलको काठमाडौंको हलचोकस्थित मुख्यालयभित्र सवारी पार्किङ गर्ने ठाउँमा आगलागी भएको घटनामा छानबिन हुने भएको छ।
बुधबार साँझ मुख्यालयभित्र रहेको पार्किङ क्षेत्रमा आगलागी हुँदा सवारी साधनहरूमा क्षति पुगेको थियो।
केन्द्रीय प्रवक्ता एवं डिआइजी विष्णुप्रसाद भट्टका अनुसार आगलागी इलेक्ट्रिक सर्किट, चार्जिङ प्लग वा गाडीबाट भएको हुनुपर्ने अनुमान छ।
यद्यपि यसको वास्तविकताबारे बुझ्न मुख्यालयले समिति बनाउने तयारी गरेको हो। ‘हाम्रो बुझाइ इलेक्ट्रिक सर्किट वा चार्जिङ प्लग वा गाडीबाट भयो भन्ने छ। त्यसबारे बुझ्न समिति पनि बन्नेक्रममा छ,’ उनले भने।
त्यस ठाउँमा आगलागी हुँदा एटिभी भेहिकल (क्वाड बाइक) ६ वटा, एक उच्च अधिकारी चढ्ने गाडी र दुई वटा बाइकमा क्षति भएको छ।
एटिभी भेहिकललाई सशस्त्र प्रहरी बलले हिमाली क्षेत्रमा चढ्नका लागि प्रयोग गर्ने तयारी गरेको थियो। उक्त चार पाङ्ग्रे बाइक अमेरिकी सरकारको सहयोगमा प्राप्त भएको थियो।
‘अमेरिकाले दिएका एटिभी भेहिकल पनि थिए। त्यसलाई मनाङ, मुस्ताङ लगायत पहाडी क्षेत्रमा प्रयोग गर्ने भन्ने थियो। काठमाडौंमा परीक्षण पनि गरिएको थियो। तर माथिल्लो भेगमा प्रयोग हुन नपाउँदै आगलागी भएको हो,’ स्रोतले भन्यो।
ती भेहिकल दर्ता गर्ने प्रक्रियामा थिए।