रोल्पामा बिहीबार बिहान जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शवहरू फेला परे। दुर्घटनास्थल ठाडो भीर र जटिल भूगोल थियो।
सडकदेखि झन्डै तीन सय मिटरमुनि भीरमा दुई पुरूष र एक महिलाको शव अड्किएको अवस्थामा फेला परेका थिए।
दुर्घटना खबर पाएपछि जिल्ला प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखु नौ जना प्रहरीसहित घटनास्थल पुगेका थिए।
घटनास्थलबाट प्रहरी प्रमुख बाखुले भीरमा अड्किएको अवस्थामा फेला परेका तीन जनाको शव निकालेर माथि सडकमा ल्याउने काम भइरहेको बताए।
‘दुई पुरूष र एक महिलाको शव भीरमै अड्किएको अवस्था छ,’ उनले भने, ‘सडकभन्दा झन्डै तीन सय मिटर मुनि भीरमा तीन जनाको शवहरू फेला परे पनि गाडी भने झन्डै छ सय मिटर जति मुनि पुगेको छ।’
प्रहरी अनुसन्धानबाट इलाका प्रहरी कार्यालय होलेरीको चेकपोष्टमा जेठ २० गते साढे १० बजेतिर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको गाडी इन्ट्री भएको पाइएको छ।
गाडी चालक वीरबहादुर चौधरीले आफ्नो ठेगाना दाङको घोराही लेखाएका छन्। दुर्घटनामा परेको जिप घोराहीस्थित ‘सिद्धबाबा सप्लायर्स’ बाट होलेरीको लागि सामान लगेर गएको खुलेको छ।
त्यही भएर रोल्पा प्रहरीले जिप दुर्घटनाका मृतकहरूको सनाखतमा ढिलाइ भइरहेको जनाएको छ।
‘दुर्घटनाका मृतकहरू दाङका मानिसहरू परेको हुन सक्ने अनुमान छ,’ बाखुले भने, ‘दाङको घोराहीबाट आफन्तहरू दाङ प्रहरीसँग समन्वयमा रोल्पाको घर्तीगाउँतर्फ आउँदै हुनुहुन्छ। उहाँहरू आएर मृतकको पहिचान गरेपछि बन्न हामीले भन्न मिल्छ।’
दाङका प्रहरी प्रवक्ता डिएसपी हेमबहादुर केसीले दुर्घटनापछि रोल्पा प्रहरीको आग्रहमा आफन्तहरूको पहिचान गरी घोराहीबाट केही मानिसहरू दुर्घटनास्थल रोल्पातर्फ पठाइएको बताए।
दाङबाट आफन्तहरू रोल्पा पुगेर मृतकको पहिचान गरेपछि मात्रै प्रहरीले मृतकको विवरण सार्वजनिक गरिने जनाएको छ।
रोल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका बिहीबार बिहान ८ बजेतिर सहिद मार्ग अन्तर्गतको व्याङखोला माडी गाउँपालिका – २ घर्ती गाउँको व्याङखोलाबाट अस्थायी नम्बर प्लेट एमएच १४ टिसीजे ४७१ नम्बरको बोलेरो जिप झन्डै ६०० मिटर मुनी खसेको छ।
घटनास्थल व्याङखोला इलाका प्रहरी कार्यालय घर्ती गाउँदेखि झन्डै ४ किलोमिटर पूर्व दक्षिणमा पर्छ।