टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको प्रवक्ता एवं टिकाध्वज कार्कीले जानकारी दिए।
उनको मुद्दामा तीन दिनदेखि थुनछेक बहस जारी थियो।
अधिकारीमाथि आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर गरेको आरोप छ। उनीविरूद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ बिगो बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग थियो।
यस कसुरमा लामो समयदेखि फरार रहेकी थिइन्।
अधिकारी तुल्सा कलेक्सनकी सञ्चालक समेत हुन्। उनी टिकटकमार्फत चर्चामा आएकी थिइन्।
चीनमा रहेर सामाजिक सञ्जालमा भिडिओ राख्दै आएकी उनीविरूद्ध रेड कर्नर नोटिस समेत जारी गरेको थियो।
गत शनिबार भने प्रहरीले इन्टरपोलको सहयोगमा थाइल्यान्ड पुगेकी उनलाई पक्राउ गरी काठमाडौं फिर्ता ल्याएको हो। उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको थियो।