इरानले अमेरिकी सैनिकहरूको ज्यान लिए मात्रै इरानसँगको युद्धविराम अन्त्य गर्ने विचार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकारीलाई बताएका छन्।
पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाबीच आक्रमण र प्रतिआक्रमण भएपछि अप्रिलमा भएको युद्धविराम अन्त्य हुने खतरा बढेको बेला उनले सो कुरा बताएका द वाल स्ट्रिट जर्नलले जनाएको छ।
ट्रम्पले युद्ध पुन: चर्काउन देखाएको अनिच्छाले उनले द्वन्द्व थप भड्किन नदिन हप्तौँ वा महिनौँसम्म सानातिना तनाव सहने मनस्थितिमा देखिन्छन्।
यो हप्ता अमेरिका र इरान बीच अप्रिलको सुरूमा युद्धविराम लागू भएयताकै सबभन्दा तीव्र लडाइँ भयो। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू र कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल र ड्रोन प्रहार गर्यो भने अमेरिकाले पनि इरानमाथि प्रहार गर्यो। यस्तो बेलामा इरानले अमेरिकी सैनिकहरू मारेमा मात्रै युद्धविराम अन्त्य गरेर इरानमाथि कडा प्रहार गर्नेबारे सोच्ने ट्रम्पले आफ्ना सहयोगीहरूलाई बताएका हुन्।
अमेरिकी सेनाले बुधबार इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरू खसाल्ने मात्रै नभएर स्ट्रेट अफ होर्मुज नजिकका लक्ष्यहरूमा पनि आक्रमण गरेको थियो।
इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले केही समयअघि जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले इरानका धेरै वटा ब्यालिस्टिक मिसाइल र ड्रोनहरू खसालेको थियो।
साथै मध्यपूर्वभर इरानद्वारा गरिएका आक्रमण प्रयासहरूको जबाफस्वरूप हर्मुजस्थित केश्म टापुमा 'आत्मरक्षात्मक आक्रमण' गर्यो।
सेन्ट्रल कमान्डले त्योभन्दा अघि विज्ञप्ति जारी गर्दै इरानी बन्दरगाहतर्फ जान खोजिरहेको खाली तेल बोक्ने जहाजलाई पर्सियाको खाडीमा निष्क्रिय बनाएको जनाएको थियो।
सो आक्रमणको प्रतिक्रिया स्वरूप इरानले हमला गरेको इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) ले टेलिग्राममार्फत वक्तव्य जारी गरेर भन्यो।
गत हप्तादेखि भइरहेका लगातारका आक्रमणको क्रममा अमेरिकाले सप्ताहन्तमा पनि दक्षिणी इरानका सैन्य लक्ष्यहरूमा आत्मरक्षाका लागि हवाई आक्रमणको शृंखला चलाएको थियो।
इरानी तटको गोरुक सहर र केश्म टापुमा रहेका राडार तथा ‘कमान्ड एन्ड कन्ट्रोल’ केन्द्रहरूलाई निशाना बनाएको अमेरिकाले जानकारी दिएको थियो।
आइआरजिसीले दक्षिणी इरानको एक सञ्चार केन्द्रमा आक्रमण गरेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको जनाएको थियो।
अमेरिकाले बिहिबार राति पनि आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका दक्षिणी इरानका सैन्य संरचनाहरूमा हमला गरेको थियो।
सो हमला गर्न प्रयोग भएको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको भनेर इरानले पनि दाबी गरेको थियो।
जबाफमा इरानले कुवेत र बहराइनमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर मिसाइल प्रहार गरेको अमेरिकी समाचार संस्था एशोसियटेड प्रेसले लेखेको छ।
अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला पछिल्ला सैन्य कारबाही सार्वजनिक भएका हुन्।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग हुने सम्झौतामा केही बुँदामा संशोधन खोजेका छन्।
इरानसँग अप्रत्यक्ष रूपमा वार्ता गरिरहेको अमेरिकी टोलीसँग शुक्रबार दुई घन्टा छलफलका क्रममा उनले अमेरिकाले अडान लिँदै आएका केही बुँदामा संशोधन गर्न वार्ता टोलीलाई अह्राएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
विशेषगरी इरानको आणविक कार्यक्रम, ऊसँग भएको उच्च प्रशोधित युरेनियम र स्ट्रेट अफ हर्मुजको विषयमा ट्रम्पले तेहरानबाट थप स्पष्टता खोजेको सो छलफलबारे जानकार स्रोतहरूलाई उल्लेख गरेर एक्सियसले जनाएको छ।
इरानले भविष्यमा कहिल्यै आणविक हतियार बनाउने, करिब ४०० किलो उच्च प्रशोधित युरेनियम हस्तान्तरण र हर्मुजमा विना अवरोध जहाजको आवागमन सुनिश्चित गर्न ट्रम्पले मस्यौदामा रहेको बुँदाहरू संशोधन गर्न लगाएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)