कपिलवस्तुमा सर्पदंशका कारण एक किशोरीको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका-१ मालटोलकी १६ वर्षीया रिया बर्माको मृत्यु भएको हो।
उनलाई बुधबार मध्यराति सर्पले डसेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार रिया उषाकी एक्ली सन्तान हुन्।
रियाले तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट यही वर्ष एसइई उत्तीर्ण गरेकी थिइन्। उनी कक्षा ११ मा अध्ययनको तयारी गरिरहेकी थिइन्।
रियालाई गोमनले डसेको कुरा बुधबार राति १२:१० मा परिवारले थाहा पाएका थिए।
घरमा सुतिरहेकी रियालाई सर्पले खुट्टामा डसेपछि अभिभावकले उनलाई १२:३५ मा कपिलवस्तु अस्पताल पुर्याएका थिए। त्यहाँ प्रारम्भिक चरणको उपचारपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्प दंश उपचार केन्द्रमा पुर्याइएको थियो। त्यहाँस्थित उपचार केन्द्रमा पुर्याउनासाथ चिकित्सकले १:५० मा रियालाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार पोस्टमर्टम प्रक्रिया पूरा गरी रियाको शव बिहीबार नै परिवारलाई बुझाइएको थियो। परिवारले आफ्नो जातिय परम्पराअनुसार बिहीबार नै उनको अन्तेष्टि गरेका थिए।