बिहीबार रातिदेखि लगातार परेको वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको छ। काठमाडौंमा शनिबार घाम लागेको छ भने देशका अधिकांश भूभागमा पनि वर्षा रोकिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ। बाँकी प्रदेशमा आंशिक बादल लागेको छ।
महाशाखाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको छ।
महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार अहिले कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा वर्षा भएको छैन।
‘अहिले काठमाडौंमा मात्रै मौसममा सुधार भएको जस्तो देखिएको छ,’ उनले भनिन्, ‘काठमाडौंमा आज अब पानी पर्ने सम्भावना कम छ।’
उनका अनुसार देशका अन्य स्थानमा पनि लगातार झरी पर्ने सम्भावना छैन। हिमाली भूभागका थोरै स्थानमा भने हल्का वर्षा र हिमपात हुन सक्नेछ।